मिर्गौला पीडित गीतकार संगीतकार सुक गुरुङको सहयोगार्थ विविध साँस्कृतिक कार्यक्रम गरिने

सुक गुरुङ

हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, ३० फागुन। छेक्यो छेक्यो देउराली डाँडा, भाई टिकामा, आँखैमा झलझली, दोष कसैलाई दिन चाहान्न, दोबाटोमा आँखाहरु नझुधेको होइन, लगायतका कर्णप्रिय गीतका सर्जक गीतकार संगीतकार सुकबहादुर गुरुङको उपाचारका लागि चैत्र २३ गते पोखरामा विविध साँस्कृतिक कार्यक्रम हुने भएको छ।

मिर्गौला पीडित सर्जकको उपचाकारका लागि गीतकार संगीतकार सुक गुरुङ उपाचार सहयोग समितिको सोमवार पोखरामा सम्पन्न बैठकले चैत्र २३ गते पोखरामा उपचार सहयोगार्थ विविध साँस्कृतिक कार्यक्रम गर्ने निर्णय गरेको हो।

साँस्कृतिक कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्नका लागि अग्रज सँस्कृतिकर्मी हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङको संयोजकत्वमा ११ सदस्यीय साँस्कृतिक उपसमिति गठन गरेको छ । विभिन्न साँगीतिक क्षेत्रका महानभावहरु रहेको समितिको सदस्यहरुमा तेज केसी, शान्त बज्राचार्य, सागर शाह, ज्ञानबहादुर थापा, राजा मुखिया, तिलक गुरुङ, रुबी गौली, आँचल लामा, सनिल थापा, कौशल्या गुरुङ र शेरबहादुर गुरुङ रहनुभएको छ।

मिर्गौला प्रत्यारोपणसहित उपाचारका लागि करिब २० लाख रुपैया खर्च लाग्ने र उहाँको आर्थिक अवस्था कमजोर भएकाले उपचार सहयोगार्थ गठित समितिले विविध साँस्कृतिक कार्यक्रम मार्फत १० लाख रुपैया भन्दा बढी सहयोग जुटाउने लक्ष्य राखेको छ।

यसरी नै बैठकले सहयोग अभियानकै क्रममा हङकङमा रहनु भएकी हङकङ नेपाली महासंघकी अध्यक्ष रीता गुरुङलाई हङकङमा सहयोग अभियानको संयोजकको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ भने युकेमा सामाजिक अभियन्ता महेस गुरुङलाई सहयोगको संयोजनको पहलन गर्न आग्रह गर्ने भएको छ । यसैगरी सर्जक गुरुङ उपचारका लागि स्वास्थ्या मन्त्रालय, साँस्कृतिक संस्थान, संगीत नाट्य प्रतिष्ठान, देश विदेशमा रहेका संघ संस्थाहरु, स्थानीय साँस्कृतिक एवं सांगितीक क्लवहरु, व्यवसायिक प्रतिष्ठान र विभिन्न सहयोगी महानुभावहरुलाई सहयोगको लागि पत्राचार गर्ने निर्णय भएको समितिका सचिव भुपाल गुरुङले जानकारी दिनुभयो।

उपचार सहयोगको सामाजिक सञ्चाल अभियानका लागि मणिलाल गुरुङ र लोक दुरा, सञ्चार अभियानका लागि हुमबहादुर गुरुङ, भुपाल गुरुङ, चिजकाजी गुरुङ, भिमकाजी गुरुङलाई जिम्मेवारी दिने निर्णय बैठकले गरेको अध्यक्ष जगन गुरुङले जानकारी दिनुभयो।

उच्चरक्तचाप र मधुमेहका कारण २०७१ साल पुस १९ गतेदेखि दृष्टि गुमाउन पुगेका गुरुङ दुवै मिर्गौला पीडित भई उपचाररत रहनु भएको छ । चिकित्सकको सल्लाह अनुसार उहाँको मिर्गौला प्रत्यारोपण गरे पश्चात स्वास्थयमा सुधार आउने भएकाले समिति नै गठन गरेको उपचार सहयोगका लागि जुटेको हो।

राज्यबाट नै उपचारमा पहल गरिनुपर्ने वरिष्ठ गीत संगीतका सर्जकलाई राज्यको तर्फबाट समेत कुनै सहयोग नभएकाले नागरिकस्तरबाट उहाँको जीवन रक्षाका लागि उपचार सहयोग अभियान सञ्चालन गरेको हो।

पुख्र्यौली लमजुङ, जन्म चितवनको दिव्यनगर, बाल्यकाल तथा शिक्षाआर्जन पोखरा र कर्म थले काठमाडौं बनाउनु भएका गीतकार संगीतका सुकबहादुर गुरुङको एक श्रीमती जुना गुरुङ, जेठा छोरा साउदी अरब र कान्छा छोरा कतारमा कार्यरत छन् । हाल लेखनाथ डाडाकोनाक निवासी मिर्गौला पीडित बुबाका लागि आफ्नै मिर्गौला प्रत्यारोपणका लागि जेठा छोरा नेपाल आउने क्रममा हुनुहुन्छ।





Comments

comments

Leave a Reply

16772