व्यवसायीको अपहरण गरेर प्रहरीले नै लुट्यो डेढ करोड…

प्रहरीका दुई अधिकृतले नै दुई महिनाअघि मेनपावर व्यवसायीको अपहरण गरी करिब डेढ करोड फिरौतीको कागज गरेर रिहा गरेको खुलेको छ। महानगरीय प्रहरी वृत्त गौशालामा कार्यरत प्रहरी नायब निरीक्षक (सइ)द्वय सम्बत लामा र सूर्यबहादुर थापाले अन्य दुई व्यक्तिसँग मिलेर मेनपावर व्यवसायी बद्री राईलाई अपहरण गरेका हुन्। दुवै सइसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ।

राईलाई कोटेश्वरबाट अपहरण गरिएको थियो । उनीहरुले राईलाई दिउँसो करिब १ बजे कोटेश्वरमा भेट्न बोलाएर मोटरसाइकलमा राखी गौरीगाउँस्थित बाजेको सेकुवा रेष्टुरेन्टमा पुर्‍या‍एका थिए । रेष्टुरेन्टकै कोठामा बन्धक बनाई उनीहरुले २ लाख ३० हजार नगद लिएका थिए । त्यस्तै २५-२५ लाखको चेक काट्न लगाउनु्का साथै चारै जनालाई थप २५-२५ लाख दिने तमसुक बनाएर छाडिदिएका थिए । घटनाको करिब २ महिनापछि गत मंगलबार मात्र मेनपावर व्यवसायी राईले उजुरी गरेका हुन्। अपराध महाशाखाका डिएसपी अजय केसीको नेतृत्वमा मंगलबादेखि सुरु भएको अप्रेसनमा उनीहरु पक्राउ परेको खबर नयाँ पत्रिकाले छापेको छ।

यसरी भयो अप्रेसन
अपरहणमा परेका राईलाई अपहरणकारीको बारेमा विस्तृतमा थाहा थिएन । राजकुमार गुरुङको फोटो थियो । सोही फोटोका आधारमा डिएसपी केसीले खोजी सुरु गरे । बुधबार उनी लतिलपुरको भैंसेपाटीमा रहेको खुल्यो । उनी भारत जाने तयारीमा थिए । उनकै एक साथीलाई प्रहरीले प्रयोग गरी उनलाई पक्राउ गरेको हो । भारत जान लागेको थाहा पाएपछि ‘एक जना डिएसपीसाबको छोरा भारतमा हुनुहुन्छ, उहाँको लागि एउटा किताब लगिदिनुपर्यो‍’ भन्दै एक साथीमार्फत उनलाई आग्रह गरियो । एयरपोर्टमै किताब लिने सहमति भयो । डिएसपी केसीले एउटा किताब किनेर एक व्यक्तिलाई एयरपोर्टमा पठाए । किताब लिएलगत्तै उनको हातमा प्रहरीको हत्डकी लाग्यो । डिएसपी केसी उनलाई भैंसेपाटीदेखि नै पिछा गरी रहेका थिए । विमानस्थलमा पहिले नै एउटा टोली खटिसकेको थियो ।

पक्राउ परेलगत्तै उनले घटना स्वीकारे । काभ्रेका अर्जुन लामा नामक व्यक्तिको प्रस्तावमा उक्त अपहरण भएको उनले बताएका छन् । केही क्षणमै तामाङ पनि जडिबुटीबाट पक्राउ परे । घटनामा २ जना सईको पनि संलग्नता खुलेपछि महाशाखाले बुधबार नै आफ्ना २ सईलाई पनि नियन्त्रणमा लिएको हो । दुवै जना गौशला वृत्तमा सादा पोशाकमा काम गर्ने प्रहरी हुन् । लोभमा फसेर आफुहरुले उक्त काम गरेको उनीहरुले बताएका छन् ।

योजनाकार सई
गुन्डागर्दीमा समेत संलग्न लामाले मेनपावार संचालक राई सुन तस्करीमा संलग्न भएको सूचना पाएका थिए । केही महिनाअघि बौद्धका फुर्पा शेर्पाले लुटेको १५ केसी सुनमा उनको पनि संलग्न रहेको सूचना पाएका थिए । सोही आधारमा उनलाई धम्काएर पैसा असुल्ने उनको योजना थियो ।

राजकुमारसँग उत्त प्रस्ताव ल्याएपछि उनले प्रहरीसँग मिलेर उक्त काम गर्ने योजना बनाए । गौशला वृत्तमा काम गर्ने सादा पोशाकका प्रहरीसँग उनको चिनजान थियो । सई सम्बत तामाङले पक्राउ शैलीम अपहरण गरी पैसा असुल्ने योजना बनाए । सोही योजनाअनुसार उनलाई नियन्त्रणमा लिई पैसा असुलिएको थियो ।

घटनाको २ महिनापछि मात्र राईले उजुरी गर्नुमा उनको पनि केही कमजोरी हुनसक्ने प्रहरी आशंका छ । स्रोतका अनुसार पक्राउ परेका २ सईले धेरै पैसा मागेपछि उनले उजुरी दिएका हुन् ।

अपहरणमा संलग्न गुरुङ पहिला ट्याक्सी चालक हुन् । गुन्डागर्दीमा समेत संलगन उनले पछि एयरपोर्टको ट्याक्सी चलाउन थालेका थिए । लगत्तै उनले ठमेलमा रेटुरेन्ट तथा एजुकेशन कन्सलटेन्सी समेत खोलिसकेका थिए । छोटो अवधिमा उनले अवैध तरिकाले धेरै पैसा कमाएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरु बताउछन्।





Comments

comments

Leave a Reply

16805