नेपाल भारतका ५ जना स्रष्टालाई नइ पुरस्कार

काठमाडौं, १६ चैत । नइ प्रकाशनले नेपाल राष्ट्र र अन्तर्राष्ट्रिय क्षेत्रका गरी पाँच जना महानुभावहरूलाई २०७३ सालका विभिन्न पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अयक्षतामा बसेको नइ प्रकाशनको विशेष बैठकले सो निर्णय गरेको हो।

नइ प्रकाशनले दुई लाख रुपिया राशिको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ भारतका श्रीमती विन्द्या सुब्बालाई समर्पण गर्ने निर्णय गरेको छ । विगत पाँच दशकअघिदेखि नेपाली वाङ्मयको श्रीवृद्धिका लागि निरन्तर समर्पित रहँदै नेपाली भाषा साहित्यको अन्तर्राष्ट्रिय विस्तारमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याएबापत उहाँलाई सो पुरस्कार समर्पण गरिने भएको हो । यो पुरस्कार नेपाली-गोर्खाली मूलका विदेशी नागरिकलाई मात्र प्रदान गरिन्छ।

साथै साहित्यकार, संस्कृतिविद्, चित्रकार तथा आयुर्वेदाचार्य डा.मोदनाथ प्रश्रितलाई एक लाख रुपिया राशिको ‘नइ खरा सुकीर्ति पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ । उहाँलाई नेपाली भाषासाहित्यमा छ दशकअघिदेखि अहोरात्र समर्पित रहँदै पृथ्वीनारायण शाहको नेपाल एकीकरणबारेको महत्ता जनजनमा फैलाउनका साथै संस्कृति, चित्रकला र आयुर्वेदका क्षेत्रमा समेत पुर्‍याएको गरिमाशाली योगदानका निम्ति सो पुरस्कार समर्पण गर्ने निर्णय गरिएको हो।

त्यसै गरी साढे छ दशकअघिदेखि नेपाली नारी जागरणका लागि निरन्तर सङ्घर्षरत रहँदै नेपाली भाषा साहित्यको सृजनामा समेत पुर्‍याएको विशिष्ट योगदानका निम्ति सुश्री शान्ता श्रेष्ठलाई पचास हजार रूपियाँ राशिको ‘नइ खरा प्रदीप्ति पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ।

साथै नेपाली तथा मैथिली भाषासाहित्य तथा पत्रकारिताका क्षेत्रमा मन, वचन र कर्मले समर्पित हुँदै मैथिली सङ्गीत र चलचित्रको विकासमा समेत क्रियाशील बहुआयामिक साधक श्री धीरेन्द्र प्रेमर्षिलाई पच्चीस हजार रुपिया राशिको ‘नइ खरा गौरव पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ।

यसै गरी समाजसेवा, नाट्याभिनय, छायाचित्र र पठन, लेखन क्षेत्रकी प्रखर प्रतिभा सुश्री नानी थापालाई पन्ध्र हजार रुपियाँ राशिको ‘नइ खरा पौरख पुरस्कार’ समर्पण गर्ने निर्णय गरिएको छ।

सुप्रसिद्ध राजनीतिज्ञ खनूपरुदे ‘रामबाबू’को प्रबल इच्छा अनुसार सात वर्षअघि यी पुरस्कारका स्थापना भएका हुन्।

(नरेन्द्रराज प्रसाई)
सदस्यसचिव





Comments

comments

Leave a Reply

16988