पोखरामा यसरी घन्कियो तमुवानको नारा, संविधान संशोधन नभए चुनाव रोक्ने चेतावनी

हुम तमु / एचकेनेपाल डट कम –

पोखरा, १७ चैत्र। पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान, जनताको अधिकार सुनिश्चित भएको संविधानका लागि परिमार्जनसहित संशोधन हुनुपर्ने मागसहित आन्दोलनरत संघीय गठनबन्धन आवद्ध तमुवान संयुक्त संघर्ष समितिले विहिबार पोखरामा बृहत जनप्रदर्शन र विरोध सभा सम्पन्न गरेको छ । विरोध सभाका वक्ताहरुले परिमार्जनसहित संविधान संशोधन विना स्थानीय निर्वाचन हुनै नसक्नेमा जोड दिए । उनीहरुले संविधान संशोधन विना जबरजस्ती निर्वाचन गरिए सशक्त आन्दोलनसहित कारवाहीसम्म गरिने चेतावनी दिए।

कार्यक्रमका अतिथि संघीय समाजवादी फोरमका केन्द्रीय उपाध्यक्ष हेमराज राईले परिमार्जनसहित संविधान संशोधन विना जवरजस्ती चुनाव गर्न खोजे मुलुकमा विद्रोह हुने चेतावनी दिनुभयो । उहाँले पहिचान, अधिकार, स्वाभिमानको आन्दोलन शान्तिपुर्ण गर्दै आइरहको र संघीय गठबन्धनसँग गरिएको सहमति विपरीत संविधान संशोधन नगरी हेप्दै गए जाइलाग्ने भन्दै विभेद विरुद्धको प्रतिकार स्वभाविक हुने बताउनुभयो । अधिकार र राष्ट्रियताको आन्दोलनलाई साझा रुपमा सशक्त बनाए कसैले रोकेर नरोकिने बताउनुभयो।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्षम कुमार लिङ्देनले सत्तासीन माओवादी—काँग्रेसले संघीय गठबन्धनलाई ठुलो धोका दिएको भन्नुहुदै पहिचानको आन्दोलन अघि बढ्छ, यदि कोही बाधक बने जीवन मरणको लडाईका लागि तयार रहेको बताउनुभयो । संविधान संशोधन नगरी स्वार्थपुर्तिका लागि स्थानीय निर्वाचन घोषणा गरेको छ, यो चुनाव हामी असफल बनाउछौं भन्नुहुदै तत्काल संविधान धारा २७४ खारेज गर्न माग उहाँको थियो । २७४ धारा खारेजी विनाको निर्वाचन भए विभेद भोगिरहेका जनताको पहिचान, संघीयता र अधिकारको आन्दोलन २ सय वर्ष पछि पर्ने भन्नुहुदै लिम्बुवानी नेता लिङ्देनले प्रतिगामी दलका नेताहरु एलसेलको ३० अरबबाट सात सय दलालहरु जन्माउने खोजेको बताउनुभयो । चैत्र २१ गते पछि बस्ने गठबन्धनको बैठकले सशक्त आन्दोलन तय गर्दछ, आन्दोलनका लागि तमुवानी जनता तम्तयार हुनुहोस, अधिकारका लागि मर्न पनि नेताहरु तयार छ भन्नुभयो।

तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले जनताले अधिकार माग गर्दा भावना निमोठ्दै जबरजस्ती निर्वाचन गर्नु हुदैन, पहिला अधिकारका लागि संविधान संशोधन गर्ने पर्ने बताउनुभयो । उहाँले संविधानमा अधिकार सुनिश्चित नभए आदिवासी जनजाति, मधेशी लगायत विभेदमा पारिएका समुदायले निर्वाचन बहिष्कार गर्नुपर्ने सुझाव दिनुभयो।

तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर तमुले परिमार्जन सहित संविधान संशोधन विना स्थानिय निर्वाचन धोका हो, धोका दिनेहरुलाई आवाश्यक परे कारवाही गर्ने चेतावनी दिनुभयो । संविधानमा अधिकार सुनिश्चित हुनुपर्ने मागलाई संशोधनमार्फत सुनिश्चित गर्ने सहमति गरेको सरकारले संविधान संशोधन होइन स्थानिय निर्वाचन भनेर अघि बढे उम्मेदवारलाई कारवाहीसहित ठुलो नोक्सानी व्यहोर्नुपर्ने बताउनुभयो।

कार्यक्रममा नेपाल तामाङ घेदुङका पुर्व केन्द्रीय अध्यक्ष धनप्रसाद तामाङले प्रतिक्रियाबादीहरु आदिवासी जनजाति भुमिपुत्रहरुलाई आफ्नै भुमिमा राजनीतिक शरणार्थी बनाउन खोजेको भन्दै चेतावनी दिनुभयो । उहाँले आफुहरुको लडाई पहिचानसहित अधिकार तथा माटोको लडाई भएकाले कहिल्यै नहार्ने बताउनुभयो।

कार्यक्रममा तमुवान साँस्कृतिक परिवारका चन्द्र तामाङ मुस्कान, अविनास तामाङ, सनम तामाङ लगायतका कलाकारहरुले पूर्व सांसद हितकाजी गुरुङद्धारा लिखित र संगीतबद्ध तमुवान गीतहरु प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको संचालन तमुवान संयुक्त संघर्ष समितिका सचिव गजेन्द्र लिम्बुले गर्नुभएको थियो।

विरोध सभा अघि पोखरा ११ रानीपौवाबाट शुरु भएको तमुवान जनप्रदर्शन परिमार्जन सहित संविधान संशोधन गर, संविधान संशोधन विनाको निर्वाचन वहिष्कार गरौं,प्रतिगामी स्थानीय संरचना खारेज गर,विभेदमा पारिएका वर्ग समुदायको अधिकार सुनिश्चित गर,मधेशी जनताका हत्यारालाई कारबाही गर,तमुवान प्रदेश घोषणा गर, पहिचान र अधिकार सुनिश्चित गर, संघीय गठबन्धन जिन्दावाद लगायतको नारा लगाउदै भिमसेनचोक, महेन्द्रपुल हुदै चिप्लेढुंगा मानवअधिकार चोकमा विरोधसभामा परिणत भएको थियो । जनप्रदर्शनमा तमुवानका तमु लगायत आदिवासी जनजाति संघ संस्थाको मौलिक भेषभूषामा बृहत सहभागीता रहेको थियो।





Comments

comments

Leave a Reply

16997