एचकेनेपाल डट कम संवाददाता-
नइ प्रकाशनले समन्वयात्मक राष्ट्रिय संस्कृतिका मूल्य र मान्यताको गौरवबारे प्राज्ञिक अनुसन्धान गरी नेपाली जातीय साँस्कृतिक एकता राख्नमा समेत सदैव चिन्तनशील संस्कृतिविद्, ज्योतिषविद् र तन्त्रशास्त्री डा.जगमान गुरुङलाई ‘नइ भूपालदुर्गा पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ।
निबन्ध, नाटक, उपन्यास विधाका साथै शास्त्रीय छन्द र आधुनिक प्रकृतिका गीत, कविता, काव्यको समेत स्तरीय सृजना गर्दै देशदेशान्तरमा नेपाली भाषा र साहित्यको गरिमा बढाएबापत श्री कञ्चन पुडासैनीलाई ‘नइ ईश्वरवल्लभ पुरस्कार’ समर्पण गर्ने निर्णय गरिएको छ।
साथै चित्रकार विजय थापालाई ‘नइ यउजा पुरस्कार’ समर्पण गरिने भएको छ । थापालाई चित्रकलाका क्षेत्रमा समर्पित हुँदै अन्तर्राष्ट्रिय स्तरको चित्रकला सृजनागरी नेपालको गौरव बढाउनमा महत्वपूर्ण योगदानका निम्ति सो पुरस्कार समर्पण गर्ने निर्णय गरिएको हो।
यसै गरी नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारका लागि सृजनात्मक र सङ्गठनात्मक रुपमा निरन्तर समर्पित रहँदै विशिष्ट योगदानका निम्ति नेपाली साहित्य विकास परिषद् वेलायतका संस्थापक अध्यक्ष सुरेशजङ्ग शाहलाई ‘नइ गणेशदुर्गा पुरस्कार’ समर्पण गर्ने निर्णय गरिएको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईद्वारा प्रेस विज्ञप्तिमा जनाइएको छ।
प्रसाईका अनुसार यी सबै पुरस्कारका राशि जनही पचास हजार रूपियाँ रहेका छन्।
नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो।
शताब्दी पुरुष डा.सत्यमोहन जोशीको ९८औं शुभजन्मोत्सवका अवसरमा आगामी वैशाख २९ गते काठमाडौंमा नइ पुस्कारहरु समर्पण गरिने भएका छन्।