‘छेक्यो छेक्यो देउराली डाँडा’ का स्रष्टा सुक गुरुङको उपचारको लागि ४० लाख संकलन

हुम तमु / एचकेनेपाल डट कम –

पोखरा, २४ चैत्र। गीतकार तथा संगीतकार सुक गुरुङको उपचार सहयोगार्थ बुधवार पोखरा सभागृहमा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

छेक्यो छेक्यो देउराली डाँडा, दोबाटोमा आँखाहरु, दोष कसैलाई दिन चाहन्न, भाइटिकामा, आँखैमा झलझली लगायतका चर्चित र कर्णप्रिय गीतका गीतकार संगीतकार मिर्गौला पीडित सुक गुरुङको उपचार सहयोगका लागि गठित समितिले साँस्कृतिक कार्यक्रम गरेको हो।

कार्यक्रमको प्रमुख अतिथि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.बुद्धिबहादुर थापाले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो।

प्रमुख अतिथि डा.थापाले मिर्गौला पीडित गुरुङको मिर्गाैला प्रत्यारोपण पछिको सम्पूर्ण स्वास्थ्योपचारको जिम्मा लिने घोषणा गर्नुभयो । मिर्गौला प्रत्यारोपणपछि उहाँको स्वास्थ्य अवस्था नर्मलमा आउने भए पनि प्रत्यारोपण पछि पनि धेरै औषधोपचार गरिरहनुपर्ने हुनाले प्रतिष्ठानले सहयोग गर्ने डा.थापाले प्रष्ट पार्नुभयो। नेपाल सरकारले डाइलासिस निशुल्क गरेको छ, मिर्गौला प्रत्यारोपण निशुल्क भनिए पनि कार्यविधि नै तयारी नभएको जानकारी दिनुहुदै उहाँले स्रष्टा सुक गुरुङलाई उपचारका लागि विश्वका हरेक क्षेत्रबाट जस्तै आफूहरुले आर्थिक सहयोगका लागि पहल हुने बताउनुभयो। सुक गुरुङ उपचार पश्चात फेरि पनि संगीत क्षेत्रमा योगदान पुर्याउनु हुने अपेक्षा गर्नुहुदै उहाँकी धर्म पत्नी जुना गुरुङलाई हामी सबै साथ छौं, नआत्तिनुस, हिम्मत गर्न आग्रह गर्नुभयो।

मिर्गाैला पीडित गुरुङले २०७१ साल पुस १९ अचानक ढल्न पुगी नौदिन पछि होसमा आउदा आँखै नदेख्न अवस्थामा आफूलाई पाउदा ९९ प्रतिशत जीवन समाप्त भएको भन्दै संसारका हरेक क्षेत्रबाट साथ सहयोगले आफू बाँचीरहेको र सबैको साथ सहयोगले थप जीवन पाउने अपेक्षा व्यक्त गर्नुभयो।

सहयोग समितिका संयोजक, कार्यक्रमका अध्यक्ष जगन गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुहुदै सहयोग समितिको आवश्यकता, समितिले सञ्चालन गरेको अभियान र देश तथा विदेशबाट प्राप्त सहयोगले स्रष्टा सुक गुरुङको उपचारका लागि २० लाख आवश्यक अनुमान गरिए पनि झण्डै दोब्बर ३५ देखि ४० लाख रुपैया संकलन हुने आकडा आएको बताउनुभयो । उक्त अवसरमा उहाँले सम्पूर्ण सहयोगी र अभियानकर्ताहरुप्रति आभार समेत व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा मिर्गौला पीडित सुक गुरुङलाई भाङ्ग्रा र धर्म पत्नी जुना गुरुङलाई घलेकबाट समितिको तर्फबाट तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले स्याई स्याई गर्नुभएको थियो।

साँस्कृतिक कार्यक्रममा सुक गुरुङको कर्णप्रिय सिर्जनाहरु छेक्यो छेक्यो देउराली डाडा …बोलको गित बिनोद बाँनिया, दोष कसैलाई दिन… ज्ञानबहादुर थापा, भाइटिकामा…धनबहादुर गुरुङ, दोबाटोमा आँखाहरु… नरजङ गुरुङ, जिन्दगीमा धोका दियौ… रुबी गौली, आँखैमा झलझली… अजुदा थापाले गाउनुभएको थियो।

यसरी नै गायक कर्ण दासले राष्ट्रिय गीत सम्बृद्ध नेपाल…, धनबहादुर गुरुङ र शान्ति गुरुङले माया पिरती र आह्यादो ठागु बोलको गीत, सन्तोष बस्यालले ठाँट्यो मायाले…देउराली व्याण्डका शान्त बज्राचार्यले ढुंगे साघुको मेलामा…,देउराली व्याण्डकै तिलक गुरुङले जुनेली रातको एकान्तमा…, सागर शाहले नजरको गोलीले गीत प्रस्तुत गर्नुभएको थियो । यस्तै गरी हास्य कलाकार दीपक थापाले आफ्नो प्रस्तुती राख्नु भएको थियो भने हिमाली साँस्कृतिक परिवारका वरिष्ठ कलाकार गौरी गुरुङ लगायतका कलाकारहरुले नृत्यहरु र मुस्कान गुरुङले पनि नृत्य प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा युकेमा सुधा गुरुङको अगुवाईमा संकलित १४ लाख १३ हजार ६६० रुपैया, लाल गुरुङले, तमु धिं नेपाल र क्षेत्रीय तमु समाजहरुबाट संकलित १ लाख २९ हजार रुपैया, तमु धिं नेपालका अधयक्ष कर्म तमु लगायत तमु धिंको समुहले, सामाजिक अभियन्ता सरिता गुरुङद्धारा संकलित १ लाख ११ हजार १३९ रुपैया, काठमाडौस्थित मिलिजुली तमु समाजबाट संकलित ८९ हजार ८०५ रुपैया खेम तमुले, विश्व तमु संघद्धारा संकलित ५१ हजार ३६२ रुपैया, सुन्दर थापा प्रतिष्ठानद्धारा २५ हजार ५५५ रुपैया लगायत विभिन्न संघ सस्था र सहयोगीहरुबाट संयोजक जगन गुरुङलाई रकम हस्तान्तरण गरिएको थियो।

दर्शकहरुको बृहत उपस्थिती रहेको कार्यक्रमको अध्यक्षता सहयोग समितिका संयोजक जगन गुरुङले गर्नुभएको थियो भने औपचारिक कार्यक्रमको संचालन सचिव भुपाल गुरुङ र साँस्कृतिक कार्यक्रमको संचालन बरिष्ठ संचारकर्मी शान्ति गुरुङ र ज्ञानबहादुर थापाले गर्नुभएको थियो।





Comments

comments

Leave a Reply

17136