सवा लाख पासपोर्टमा इन्टरपोल निगरानी

काठमाडौं, १० असोज। नेपालले सवा लाख पासपोर्ट (राहदानी) को विवरण अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोललाई बुझाएको छ। हराएका वा चोरी भएका यस्ता पासपोर्ट आतंकवादीलगायतले दुरुपयोग गरिरहेको आशंकामा अनुसन्धान गर्न इन्टरपोलकै आग्रहमा उक्त विवरण पठाइएको हो।

उक्त सूचीमा रहेका कुनै पनि राहदानीमा कसैले यात्रा गरे १ सय ९० इन्टरपोल सदस्यराष्ट्रका जुनसुकै विमानस्थलमा अध्यागमन कर्मचारीले पक्राउ गरी कारबाही अघि बढाउनेछन्।

पछिल्लो साढे तीन वर्ष अवधिमा हराएका तथा चोरी भएका करिब १ लाख १७ हजार नेपाली राहदानीको विवरण विश्व प्रहरी सञ्जाल इन्टरपोललाई उपलब्ध गराइएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो।

‘हामीले हराएका र चोरी भएका लाखभन्दा बढी नेपाली राहदानीको विवरण इन्टरपोललाई उपलब्ध गराएका छौं। यस्ता राहदानी दुरुपयोग नहोस् भनेर विवरण उपलब्ध गराएका हौं,’ परराष्ट्र मन्त्रालय राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाले भने, ‘यी राहदानी कसैले प्रयोग गरेको अवस्थामा भेटे इन्टरपोलका सदस्यराष्ट्रका अध्यागमनले तुरुन्तै पक्राउ गरेर अनुसन्धान कारबाही गर्नेछन्।’

परराष्ट्रमन्त्री स्तरीय निर्णयपछि विभागले चोरी तथा हराएका राहदानीको विवरण नेपालस्थित इन्टरपोल शाखा (नेपाल प्रहरी) लाई बुझाएको समाचार आजको नागरिक दैनिकमा छापिएको छ।





Comments

comments

1727