प्रचण्डले भने- पृथ्वीनारायणको एकीकरण प्रक्रिया सही थियो

काठमाडौं, १० असोज। एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पृथ्वीनारायण शाहको एकीकरण प्रक्रिया सही भएको बताएका छन्। जातीय मोर्चा प्रमुख गोपाल किराँतीले शाहले नेपालको एकीकरणमा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै उनको पक्षमा प्रदर्शन गर्ने बताएको केही दिनपछि दाहालले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

उनले तत्कालीन अवस्थामा शाहको एकीकरण उचित भएको उल्लेख गर्दै अब नयाँ आधारमा राष्ट्रिय एकता हुनुपर्ने बताए। ‘मैले जनयुद्ध सुरु गर्ने बेला पृथ्वीनारायण शाहका फौजी र राजनीतिक दस्तावेज अध्ययन गरेको थिए। पृथ्वीनारायण शाहले विकासको अवरोधका रुपमा रहेको २२/२४ राज्यलाई एकीकरण गरी ठीक काम गरेका हुन्। त्यो एकीकरण समाज विकासको ऐतिहासिक भौतिकवादी दृष्टिकोणले ठीक भए पनि अब त्यो राष्ट्रिय एकता पुरानो भएको छ,’ पार्टी मुख्यालय पेरिसडाडामा बिहीबार आयोजित एक कार्यक्रममा दाहालले भने, ‘अब हुने राष्ट्रिय एकता समानतामा आधारित हुनुपर्छ।’

शाहको मुलुक एकीकरणलाई गोर्खा घर भएका एमाओवादी बरिष्ठ नेता बाबुराम भट्टराईले पनि सकारात्मक बताइसकेका छन्। राजतन्त्र अन्त्य भएको करिव छ वर्षपछि एमाओवादीले पृथ्वीनारायणलाई सम्झेको हो। दाहालले परिवर्तन सिंहदरबारबाट नभई झुपडीबाट आएको उल्लेख गर्दै संघीय गणतन्त्र संस्थागत गर्न राष्ट्रिय एकताको खााचो रहेको जनाए। उनले संघीयताबिरुद्ध षड्यन्त्र भइरहेको उल्लेख गर्दै त्यसलाई असफल बनाउन संसदभित्र मोर्चा बनाउन लागेको जानकारी दिए।

‘हामी पनि संसदभित्र मोर्चा बनाएर त्यो षड्यन्त्र असफल बनाउने तयारीमा लागेका छौ,’ उनले भने, ‘संघीय गणतन्त्रात्मक संविधानमा खतरा भएकाले मोर्चा बनाउनु परेको हो।’ उनले सत्ता संचालक दल कांग्रेस, एमाले संविधान निर्माणमा गंभीर नभएको समेत जनाए। उनले कांग्रेस, एमाले सहमतिमा संविधान जारी गर्नेभन्दा पनि प्रक्रियाबाट संविधान जारी गर्न लागेको आरोप लगाएको समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।

‘संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने कि नहुने भन्ने अहिले अहम् प्रश्न बनेको छ। संविधानसभालाई प्राविधिक रुपमा भंग गर्ने डिजाइनमा अभिजात वर्ग लागेको छ,’ उनले राष्ट्रिय अखण्ताबिरुद्ध अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेको सीके राउतलाई संकेत गर्दै भनेे, ‘अहिले राजा फर्काउने र धार्मिक राज्यको माग गर्ने अन्तरिम संविधानविरोधीहरु खुल्लम खुल्ला हिँडिरहेको तर पहिचानको माग गर्नेहरुलाई पक्राउ गर्ने र हिरो बनाउनेतर्फ सरकार लागेको छ।’

बिखण्डनका कुरा गर्नेलाई गिरफ्तार गरेर सरकारले वातावरण बिगारेको उनको आरोप थियो। ‘यसबाट देखिन्छ, दालमा केही कालो छ,’ उनको भनाइ थियो, ‘यहा बिभिन्न विचारको बहस हुनुपर्छ, मुखमा ताल्चा लगाउने काम गर्नु दुस्साहस हो।’ उनले ‘राजतन्त्र फर्काउन र मलुक अलग बनाउन हतियार उठाउने कुरा गर्नेलाई छोड्न नहुने’ बताए।

उनले मधेसी जनता जहिले पनि राष्ट्रिय अखण्डताका पक्षमा रहेको उल्लेख गर्दै राज्य उत्तेजित हुन जरुरी नभएको बताए। नेता गोपाल किराँतीले ‘प्रचण्ड विचारधारा’ बनाउने प्रस्ताव कार्यक्रममा गरेको थिए। दाहालले त्यसलाई अस्वीकार गर्दै अन्य वामपन्थी दलाई एकीकृत गर्ने आवश्यकतालाई विचार गरेर प्रचण्ड विचारधारा स्थगित गरेको जनाए। उनले प्रचण्ड विचारको स्थगनको उदेश्य नेपाली क्रान्तिको मौलिक विकासलाई अघि बढाउने बताए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

1731