Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

आज आमाको मुख हेर्ने दिन, यस कारण मनाईन्छ मातातीर्थ औँसी…

एचकेनेपाल डट कम संवाददाता-

काठमाडौं, १३ बैशाख । शास्त्रमा उपाध्यायपण्डित आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा भक्ति सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रुपमा आज वैशाखकृष्णपक्ष औँसीका दिन नेपालीले मातातीर्थ औँसी अर्थात् मातृऔँसी मनाउँदैछन्।

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा-तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ। आमा नभएकाहरु भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् र कष्टकर काम सम्झने गर्छन्। शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ।

आजको दिन दिवङ्गत आमाको सम्झनामा यहाँस्थित थानकोट मातातीर्थमा प्रसिद्ध मेला लाग्छ। आमा नहुने नरनारी आज बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर विष्णु र शिवको दर्शन र पूजा गर्छन्। सो तीर्थको परिसरमा मूर्तिकार रामकृष्ण भण्डारीद्वारा निर्मित सबैकी आमाको प्रतीक ‘साझा आमा’को मूर्ति पनि स्थापना गरिएको छ।

मातातीर्थको उत्पत्तिका सम्बन्धमा प्रचलित कथाअनुसार धेरै वर्षपहिले त्यस ठाउँमा गाईवस्तु चराउने चौर थियो। एकदिन एउटा गोठालाले सो चौरमा फ्याँकेको रोटीको टुक्रा हरायो। उसले अचम्म मानी रोटीको अर्का टुक्रा पनि फ्याँक्यो त्यो पनि हरायो। अरु गोठालाले पनि रोटीका टुक्रा फ्याँके तिनमध्ये आमा जीवित हुनॆले फ्याँकेका रोटी त्यहीँ रहे आमा नहुनेले फ्याँकेका रोटीमात्र अलप भए।

कथाअनुसार पहिलोचोटि रोटी फ्याँक्नेकी आमा पनि थिइनन्। त्यो दिन वैशाख कृष्णपक्षको औँसी थियो। दोस्रो दिन भने अघिल्लो दिनको जस्तो रोटी हराएन। सो कुरा चाल पाई गाउँलेले औँसीको दिन मृत आमाहरु त्यस ठाउँमा आई आफ्ना छोराछोरीले दिएका चिज खाँदा रहेछन् भन्ने विश्वास गरेर त्यस ठाउँमा कुण्ड बनाई त्यसको नाम मातातीर्थ राखे।

यसरी हरेक वर्ष आजकै दिन आमा नहुनेले त्यहाँ गई कुण्डमा नुहाएर मीठामीठा खाद्यपदार्थ चढाई मातृदिवस मनाउन थाले र मातातीर्थ मेला लाग्न थाल्यो।

आमाको महत्वलाई संस्कृतका विभिन्न श्लोकमा यसरी वर्णन गरिएको छ- ‘मातृदेवो भव पितृदेवो भव आचार्यदेवो भव। जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी। कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति।’





Comments

comments

Leave a Reply

17458