जेब्राक्रसमा मारिएकी रविनाको अन्त्येष्टि, ‘हत्यारालाई’ जन्मकैदको माग

छोरीको शव अस्पतालमा राखिरहँदा समस्या बढ्दै जाने निष्कर्षमा सूर्य चौधरी पुगे। उनलाई लाग्यो, ‘छोरीको अन्त्येष्टि नगर्नु आफूसँगै परिवारको पीडा पनि थपिँदै जानु हो।

‘छोरी दुर्घटनामा परी मारिएको पाँचौं दिन बिहीवार बिहान शिक्षण अस्पतालमा छोरीको शव बुझेर उनले अन्त्येष्टि गराए। ‘सधैं उही साथ पाउन सकिन्न। दिनदिनै घरमा आउनेहरू घट्दै छन्। म पनि यही कुरामा अल्झेर बस्न सक्दिनँ। परिवार छ, पाल्नुपर्छ। काम नगर्दा खान पाइँदैन।

कति दिन यही घटनाको पछाडि लाग्नु ? अस्पतालमा छोरीको शव छ भन्ने सोच्दा पनि भक्कानो छुटेर आउँथ्यो ‘, छोरीको अन्त्येष्टि गरेपछि सूर्यले थकित स्वरमा भने।उनले आफ्नो एउटा अडान भने परिवर्तन गर्नुभएको छैन, ‘छोरीका हत्यारालाई कडाभन्दा कडा सजाय।’गत सोमबार बिहान वीरगन्ज-काठमाडौं चल्ने रात्रिबसले बसुन्धरामा जेब्रा क्रसमा ठक्कर दिँदा सूर्यकी २३ वर्षीया छोरी रविनाको घटनास्थलमै निधन भएको थियो।

स्कुल पढाउन घरबाट हिँडेकी छोरीको दुर्घटनाको खबर सुन्नेबित्तिकै सूर्यको होसहवास उडेको थियो। चार छोरी र श्रीमतीसाथ सुकेधारामा विगत १७/१८ वर्षदेखि बस्दै आएका उनी गाडी मेकानिक हुन्। इटहरीबाट काठमाडौं सरेका सूर्यलाई काममा भान्जा ईश्वरले सघाउँदै आएका थिए। बीबीएस चौथो वर्षको परीक्षा दिएर बसेकी रविना परिवारको आशा थिइन्। ‘मलाई कुनै कुराको लोभ छैन। छोरीको हत्यारालाई कडाभन्दा कडा सजाय दिइनुपर्छ। मैले जन्मकैद नै माग गरेको छु। प्रहरीले पनि कडाभन्दा कडा सजाय गर्छु भनेको छ’, सूर्यले भने।

त्यसो त तेस्रो पक्ष बिमाबापत सूर्यको परिवारले पाँच लाख रुपैयाँ पाउनेछ। ‘तर, पैसाले मेरो छोरीको जीवन आउँदैन। मेरो छोरीको हत्याराले जन्मकैद पाओस् ता कि भविष्यमा फेरि यस्तो घटना नदोहोरियोस्’, उनले भने। घटना भएको भोलिपल्ट मंगलबार यातायात व्यवसायी संघका प्रतिनिधि र पीडित पक्षबीच छलफल भएको थियो।

छलफलमा पीडित पक्षले दोषीलाई कडाभन्दा कडा कारबाहीको माग राखेपछि व्यवसायी संघका प्रतिनिधि हिँडेका थिए। त्यसयता यी दुई पक्षबीच छलफल भएको छैन। ‘उहाँहरू (यातायात व्यवसायी)सँग कुरा गरिरहनु आवश्यक छैन। कानुनअनुसार हामीले न्याय पाउनुपर्‍यो’, सूर्य भन्छन्। सूर्यले शुक्रवार आफूलाई प्रहरीले बोलाएको बताए। रविनाको पोस्टमार्टम रिपोर्ट आइसकेको छ। रिपोर्टमा रविनाको करङ भाँच्चिएको र टाउकोबाट गाडीको चक्का कुदेको पाइएको छ।

घटनाको अनुसन्धान महाराजगन्ज प्रहरी वृत्तले गरिरहेको छ। सवारी ज्यान मुद्दामा अनुसन्धान भइरहे पनि कुन दफा लगाउने भन्ने चाहिँ बृहत् अनुसन्धान र प्रमाणको संकलनपछि मात्र थाहा हुने अनुसन्धानमा खटिएका प्रहरी बताउँछन्। प्रहरीले बसका चालक बाराको निजगढ स्थायी घर भएका २५ वर्षीय विनय तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

सवारी ज्यान मुद्दामा घटनाको प्रकृतिअनुसार विभिन्न सजायको व्यवस्था छ। लापरबाही ढंगले चलाएर ज्यान गएको हो भने चालकलाई २ वर्षदेखि १० वर्षसम्मको कैद सजाय हुने व्यवस्था छ। सावधानी अपनाउँदा अपनाउँदै ज्यान गएको हो भने चालकलाई एक वर्षसम्मको कैद वा २० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। यसैगरी ज्यान मार्ने नियतले सवारी चलाएर ज्यान लिएको हो भने चालकलाई जन्मकैदसम्मको सजाय हुन्छ। मृतक रविनाका आफन्तको माग भने प्रष्ट छ, ‘अपराधीलाई हदैसम्मको कारबाही हुनुपर्छ।’

रविनाको दुर्घटना गराउने चालकलाई अधिकतम सजाय २ देखि १० वर्षसम्मको कैद सजाय हुन सक्छ। यातायात व्यवसायी र पीडित पक्षबीच हुने सहमतिले गर्दा अधिकांश सवारी ज्यान मुद्दा ‘सावधानी अपनाउँदा अपनाउँदै ज्यान गएको’ दफा लगाएर अपराधीलाई उन्मुक्ति दिने विगतको प्रचलन रहेको पाइन्छ। यसमा प्रहरीको समेत मिलेमतो रहने गरेको खबर अन्नपूर्णमा छ।





Comments

comments

Leave a Reply

18297