पोखरामा संघीय समाजवादी फोरमले छाँया सरकार गठन गर्न्

हुम तमु
पोखरा, ३० जेठ। संघीय समाजवादी फोरम कास्कीले स्थानिय तहमा छाँया सरकार गठन गर्ने भएको छ ।

बैशाख ३१ गते सम्पन्न कास्कीको स्थानिय निर्वाचनको बुधवार पोखरामा भएको समिक्षात्मक कार्यक्रम तथा अगुवा कार्यकर्ता भेलाले जनसरोकार, विकास र जनताका अधिकारको पहरेदारी गर्नका लागि प्रतिपक्षीय भुमिका निर्वाहका लागि छाँया सरकार गठन गर्ने निर्णय गरेको हो ।

स्थानीय निर्वाचनमा अपेक्षा गरे बमोजिमको नतिजा नआए पनि संघीय समाजवादी फोरमले निर्वाचनमा धेरै उपलब्धिहरु हासिल गरेको कार्यक्रमका सहभागी बताएका थिए । यसरी नै आन्दोलन बाटै निर्वाचनमा जानु, निर्वाचनको कुनै तयारी नहुनु, संघीय समाजवादी फोरमको एजेण्डा जनता समक्ष लैजान नसक्नु र संगठन निर्माण नहुनु नै निर्वाचनमा कास्कीमा आशातित मत प्राप्त गर्न नसक्नुमा समिक्षा गर्दै तत्काल संगठन विस्तार र प्रशिक्षण कार्यक्रम आवाश्यक रहेको समिक्षा कार्यक्रमका सहभागीहरुले जोड दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि संघीय समाजवादी फोरमका राजनीतिक समितिका सदस्य तथा तमुवान इञ्चार्ज गणेशमान तमुले जनचेतनाको अभाव, संगठनात्मक कमजोरी, निर्वाचनको तयारीको नभएका कारण फोरमका उमेदवारहरु विजयी हुन नसकेको बताउनुभयो । निर्वाचनले धेरै सिकाएको छ, अब पार्टीलाई सुदृढ बनाउन अभियान सञ्चालन गरिने उहाँको भनाई थियो ।

तमुवान सहइञ्चार्ज धनप्रसाद तामाङले निर्वाचनको पार्टी जिल्ला समितिले समिक्षा गर्दै छाँया सरकार गठनसहितको संकल्प प्रस्ताव तयार पार्नुपर्ने बताउनुभयो । पोखरा लेखनाथ महानगरपालिकामा बलियो बैचारिक प्रतिपक्षको रुपमा हाम्रा उमेदवारलाई मतदाताले उभ्याएकाछन्, प्रतिपक्षको खबरदारीसहित तमुवान निर्माणको अभियानमा जुट्नु जरुरी रहेको बताउनुभयो । हामीसँग जनताका मुद्धा भए पनि समय र प्रशिक्षणको अभावले मतदाता समक्ष पुग्न नसकेको भन्दै उहाँले निरन्तर राजनीतिक प्रशिक्षण हुनुपर्नेमा जोड दिनुभयो ।

संघीय समाजवादी फोरमका विदेश विभाग सदस्य सुन्दर गुरुङले निर्वाचनको परिणामलाई आत्मसाथ गर्दै पार्टी विस्तार र पार्टीका एजेण्डा जनता सामु पुर्याउनुपर्ने बताउनुभयो । उहाँले संघीयता, पहिचान, अधिकार लगायतका मुद्धामा लामो लडाईमा रहेका मधेशका शक्तिहरु विभाजित हुदाँ अधिकारका आन्दोलनमा गम्भीर असर पुग्ने बताउनुभयो ।

पोखरा लेखनाथ महानगरपालिकाको मेयर पदमा उमेदवार बन्नुभएका हुमबहादुर गुरुङले आन्दोलन विचबाटै छोटो समयमा निर्वाचनमा सहभागी हुदा समेत जनताको अपार माया र तेश्रो स्थानको मत प्राप्त गर्नु ठुलो उपलब्धि हो भन्नुहुदै निर्वाचनमा आफुले जितेको दावी गर्नुभयो । उहाँले महानगरपालिकाको विकास र जनताको पक्षमा काम गर्न उमेदवारहरुले छाँया सरकारमो भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । संगठन निर्माण, प्रशिक्षण अभियानका साथ प्रादेशिक निर्वाचनको लागि अहिलेबाटै तयारी थाल्नुपर्ने उहाँको सुझाव थियो ।

संघीय समाजवादी फोरम कास्कीका अध्यक्ष दीपक तामाङको अध्यक्षता र सचिव गिरीप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुवेदार हरिमान तामाङ, सुवेदार नौबहादुर गुरुङ, रुद्रबहादुर गुरुङ, क्याप्टेन नरेश थापामगर, पदबहादुर गुरुङ, कुलबहादुर भुजेल, सुवेदार मनबहादुर पुन, क्याप्टेन पुर्णसिंह गुरुङ, ज्योति थिङ तामाङ, एसटीओ हर्कबहादुर गुरुङ, क्याप्टेक मेकबहादुर गुरुङ जगनप्रसाद गुरुङ, खडगबहादुर विश्वकर्मा, इश्वरबहादुर गुरुङ, पुर्णबहादुर गुरुङ लगायतले निर्वाचनको समिक्षात्मक विश्लेषण गर्नुहुदै सुझाव प्रस्तुत गर्नुभएको थियो ।





Comments

comments

Leave a Reply

18374