चिनीयाँ राष्ट्रपति सि जिनपिङ हङकङमा


तस्वीरः सिन्ह्वा

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २९ जुन । चिनीयाँ राष्ट्रपति सि जिनपिङ विहीवार दिउंसो हङकङ आएका छन्। चिनको सर्वश्रेष्ठ पद सम्हालेपछि राष्ट्रपति जिनपिङको यो पहिलो हङकङ भ्रमण हो।

बेलायतले हङकङ चीनलाई हस्तान्तरण गरेको २० औं वार्षिकोत्सवमा भाग लिन राष्ट्रपति जिनपिङ तीन दिनको लागि हङकङ आएका हुन्।

राष्ट्रपति जिनपिङले विमानस्थलमा संक्षिप्त मन्तव्य दिंदै हङकङलाई समर्थन गर्न र हङकङको स्तरउन्नति अवलोकन गर्न हङकङ आएको बताए। उनले केन्द्र सरकारले सधैं हङकङको विकास र जनताको जीविकाको सुधारको लागि दृढ समर्थन गर्ने बताए।

हङकङ भ्रमणको बेलामा राष्ट्रपति जिनपिङले हङकङका कार्यकारी प्रमुख सिवाई लेउङ र शीर्ष अधिकारीहरुसंग भेट गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी, जिनपिङले हङकङको भावी कार्यकारी प्रमुख केरी लाम र उनका नयाँ क्याबिनेटलाई भेट्ने अपेक्षा गरिएको छ।

राष्ट्रपति जिनपिङले जुलाई १ तारिख हुने हङकङ हस्तान्तरणको विशेष वार्षिकोत्सव उद्घाटन समारोहको निरीक्षण गर्नेछन्।

यसैबीच, राष्ट्रपति जिनपिङको हङकङ भ्रमणको पूर्वसन्ध्या बुधवार साँझमा केही समूहले सरकार बिरोधी नारा लगाउंदै विरोध प्रदर्शन गरेका थिए।

सुरक्षालाई ध्यान दिदै प्रहरीले राष्ट्रपति जिनपिङले भ्रमण गर्ने ठाउंहरुमा नो गो जोन छुट्याउंदै प्रवेश निषेध गराइएको छ।





Comments

comments

Leave a Reply

18565