ललितपुरका प्रवीण खत्री लागूऔषध दुर्व्यसनी थिए। १२-१५ वर्षदेखि उनले लागूपदार्थ सेवन गर्दै आएको परिवारको दाबी छ।
उनी सुध्रिएलान् कि भनेर परिवारले नै पटक-पटक प्रहरीमा बुझाएको थियो। प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी)ले पनि उनलाई नियन्त्रणमा लिएको थियो। तर, पुनःस्थापना केन्द्रमा राख्दा पनि उनी सुध्रिएनन्। प्रहरीमा उनीविरुद्ध कुनै उजुरी वा मुद्दा छैन। अन्नपूर्णमा खबर छ।
परिवार र छिमेकीका अनुसार ३२ वर्षीय खत्रीका दुई समस्या थिए- एउटा लागूऔषध सेवन गर्ने अनि अर्को परिवारका सदस्यलाई तनाव दिने। उनी कम बोल्थे, घरबाट बाहिर कमै निस्कन्थे। उनी श्रीमती, छोरा तथा बुबाआमासहित कुसुन्तीमा बस्थे। ‘छरछिमेकमा उसले त्यस्तो धाकधम्की दिँदैनथ्यो। घरबाहिर निस्किएको र घर छिरेको पत्तै पाइन्नथ्यो’, छिमेकी उद्धव थापा भन्छन्। उनै व्यक्ति सोमबार प्रहरी ‘इन्काउन्टर’मा मारिए। प्रहरीको दाबीअनुसार उनी १० वर्षदेखि लागूऔषध कारोबारी थिए र उनको साथमा दुईवटा अटो लोडेड पेस्तोल भेटिएको छ। ‘प्रवीणले आफैंलाई कञ्चटमा गोली प्रहार गरी आत्महत्या गरेका हुन्’, प्रहरी भन्छ।
‘ऊ १० वर्षदेखि लागू औषधको कारोबारमा संलग्न थियो भने प्रहरीले किन पक्रन सकेन? किन उसको साथबाट लागूऔषध बरामद हुन सकेन’, उनका एक आफन्त भन्छन्, ‘एकातर्फ घरभित्र छिरेर मान्छे मार्ने, अर्कोतर्फ लागूऔषध कारोबारी थियो भनेर परिवारलाई नै धब्बा लगाउने ? ‘खत्रीको घर आसपास बाक्लो बस्ती छ। दिउँसो २ बजे भएको उक्त घटना देखेको कुनै छिमेकीले बताएका छैनन्।
प्रहरीको दाबीमा खत्री घरको छतबाट दुबै हातमा पेस्तोल लिँदै भुइँमा झरेका थिए। उनले करिब २२ फिट उचाइबाट र १५ फिट चौडाइ पार गर्न हामफालेको प्रहरीको दाबी छ। बाक्लो बस्तीमा छरछिमेक चुप लागेर बस्नु र लागूऔषध दुर्व्यसनी मात्र रहेका खत्री इन्काउन्टरमा मारिनुले घटना रहस्यमय देखिएको छ।
बाबु-छोरा नै दुर्व्यसनी
छोरा मारिएको खबरलगत्तै प्रमोद खत्री सोमबार अपराह्न दक्षिणकालीस्थित सुधारगृहबाट आएका थिए। सोमबार प्रहरीविरुद्ध निकै आक्रोहित देखिएका उनी मंगलबार बिहान पनि मदिराले लरबरिएका थिए। उनी ८-१० वर्षयता सुधारगृहमा नियमित जाने-आउने गर्छन्। ‘भिनाजु एक-दुई महिना सुधारगृहमा बस्नुहुन्थ्यो। तर, घर फर्किएपछि उहाँको हालत उही पुरानै हुन्थ्यो। अनि फेरि सुधारगृह पठाइहाल्नुपर्थ्यो’, खत्रीका साला सञ्जय विष्ट भन्छन्।
प्रमोदको पुरानो घर ढोलाहिटी भए पनि उनी कान्छी श्रीमतीसँग कुसुन्तीमा बस्दै आएका थिए। कान्छीतर्फ एक मात्र सन्तानका रूपमा प्रवीण थिए। बाबु प्रमोद सुधारगृहमा हुने, आमा पसलमा बस्ने र श्रीमती अस्पतालमा काम गर्ने हुँदा दिनभर प्रवीण घरमा एक्लै हुन्थे। घरभित्र आफूले भनेजस्तो भएन भने उनी श्रीमती र आमामा जाइलाग्थे।’हामीले भाञ्जा सुध्रिउन् भनेर अनेक प्रयास गर्यौं तर केही परिवर्तन भएन। आमा र श्रीमतीलाई लगातार दुःख दिने र आतंक मच्चाउने मात्र काम गर्थे’, विष्ट भन्छन्, ‘उनको समस्या नै त्यति थियो।’
पारिवारिक स्रोतका अनुसार प्रवीणलाई पछिल्लो समय थप स्वतन्त्र छाडिएको थियो। ‘केही गर्दा पनि नसुध्रिएपछि उनको कसैले वास्ता गर्दैनथ्यो। तर, उनको खप्की दिन-दिनै बढ्दो थियो। आफूले भनेजस्तो भएन भने आतंक नै मच्चाउँथे। काट्छु, मार्छु भनेर धम्क्याउँथे’, एक नातेदार भन्छन्।
प्लस टुसम्मको अध्ययन गरेका उनले केही समय अल्का अस्पतालमा कामसमेत गरेका थिए। मोटरसाइकल दुर्घटनामा परेपछि उनले केही वर्षअघि जागिर छाडेका थिए। बाबु-छोरा नै दुर्व्यसनी भएका कारण उनीहरूको घरमा छिमेकीको आउजाउसमेत कम थियो। परिवारले स्वीकृति दिएपछि मंगलबार प्रवीणको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ। मृतकका आफन्तले ललितपुर प्रहरीमा उजुरीसमेत दिएका छन्।