बाढीपीडित भोकभोकै, गोदाममै थन्कियो राहत

बाढी र पहिरोका कारण सर्वसाधारण घरवारविहीन भई भोकभोकै बस्नुपरेको अवस्थामा आपूर्ति मन्त्रालयले बाढीपीडितका लागि तयार गरेको ‘राहत प्याकेज’ भने गोदाममै थन्किएको छ।

प्रभावित जिल्लाका दैवीप्रकोप समितिबाट माग नआएको भन्दै मन्त्रालयले राहत प्याकेज विभिन्न स्थानमा रहेका खाद्य संस्थान र साल्ट ट्रेडिङका गोदाममा थन्क्याएको हो। ‘बाढीपीडितलाई तत्कालै राहत सामग्री उपलब्ध गराउन आइतबार नै प्याकेज तयार गर्‍यौं तर प्रभावित जिल्लाका जिल्ला दैवीप्रकोप समितिबाट माग नै आएन,’ मन्त्रालयका सचिव प्रेम राईले भने। आजको अन्नपूर्णमा खबर छ।

सचिव राईका अनुसार मन्त्रालयले बाढीबाट प्रभावित ५० हजार परिवारलाई वितरण गर्न चामल, सिमी दाल, नुन र खानेतेलसहितको ‘राहत प्याकेज’ बनाएको छ। मन्त्रालयले प्रत्येक परिवारका लागि ३० किलो चामल, दुई किलो कर्णालीको सिमी दाल, एक किलो नुन र एक लिटर खानेतेलको प्याकेज तयारी अवस्थामा राखेको हो। ‘५० हजार पीडित परिवारका लागि राहत सामग्री तयारी अवस्थामा राखेका छौं, माग आउनेबित्तिकै परिचालन गर्छौं’, सचिव राईले सोमबार अन्नपूर्णसँग भने।

बाढीका कारण तराईका १८ सहित २२ जिल्लाका सर्वसाधारण तत्कालीन राहत सामग्रीको पर्र्खाइमा छन्। आपूर्तिमन्त्री शिवकुमार मण्डलले सरकारले बाढी प्रभावित जिल्लाको दैवीप्रकोप समितिबाट द्रुतगतिमा माग नआउँदा राहत सामग्री पीडितसम्म पुर्‍याउन ढिलाइ भएको जानकारी दिए। ‘जे-जति परिमाणमा राहत सामग्री तयार भएको थियो, त्यो तत्कालै वितरणका लागि परिचालन हुनुपर्ने थियो।

म आफैँ विराटनगरलगायत क्षेत्रका पीडितको घरदैलोमा पुगेर राहत सामग्री छिटो उपलब्ध गराउने आश्वासन दिएको छु। आफैँ पुगेको स्थानमा दैवीप्रकोप समितिलाई परिचालन गरी राहत वितरण गर्न लगाएको छु तर तयारी अवस्थामा रहेको राहत प्याकेज वितरणका विषयमा दैवीप्रकोप समितिबाट माग नै नआएको जानकारीमा आएको छ।’

मन्त्री मण्डलका अनुसार आपूर्ति मन्त्रालयले साल्ट टे«डिङ कर्पोरेसन र खाद्य संस्थानको सहयोगमा राहत सामग्रीको प्याकेज तयार गरेको हो। ‘हामीले आवश्यकताका आधारमा सुक्खा खाद्यान्नको रूपमा च्युरा, दालमोठ र चाउचाउको व्यवस्था गरी गृह मन्त्रालयमार्फत पीडितसम्म पुर्‍याउने व्यवस्था पनि गरेका छौं’, मन्त्री मण्डलले भने।

मन्त्रालयका अनुसार दाल र चामलको प्याकेज तयार गरी नेपाल खाद्य संस्थानको विर्तामोड, विराटनगर, लहान, राजविराज, जनकपुर, वीरगन्ज, भैरहवा, नेपालगन्ज र सुर्खेतको कार्यालयमा तयारी अवस्थामा राखिएको छ। संस्थानको थापाथलीस्थित गोदाममा ३४ हजार आठ सय ३४ क्विन्टल, विर्तामोडमा सात हजार आठ सय क्विन्टल, विराटनगरमा चार हजार ७६ क्विन्टल, सिरहाको लहानमा २३ हजार पाँच सय ८६ क्विन्टल र जनकपुरमा तीन हजार तीन सय क्विन्टल चामल मौज्दात राखिएको छ।

यस्तै, पर्साको वीरगन्जमा १२ हजार आठ सय ८८ क्विन्टल, रुपन्देहीको भैरहवामा पाँच हजार सय ९३ क्विन्टल, बाँकेको नेपालगन्जमा आठ सय ८० क्विन्टल, बर्दियाको राजापुर नौ हजार तीन सय ५२ क्विन्टल, कैलालीको धनगढीमा दुई हजार सात सय ५४ क्विन्टल चामल भण्डारण गरी राखिएको छ। संस्थानले काठमाडौंबाट वितरण गर्ने भनेर नौ क्विन्टल कर्णालीको सिमी दाल मौज्दात गरी राखेको छ। दुई किलोका दरले ५० हजार दालको पोका तयारी अवस्थामा छ।

यिनै जिल्लाका साल्ट ट्रेडिङको कार्यालयमा नुन र खानेतेल मौज्दात राखिएको छ। साल्ट ट्रेडिङले वीरगन्जमा एक लिटर दरको ५० हजार परिवारका लागि ५० हजार खानेतेलको पोका तयारी अवस्थामा राखेको छ।

‘जिल्ला दैवीप्रकोप समितिको मागअनुसार मौज्दात गरिएका स्थानबाट तत्कालै उपलब्ध गराउन निर्देशन दिएको छु’, मन्त्री मण्डलले भने, ‘बाढीबाट पीडित परिवारलाई उपलब्ध गराइने राहतबापतको रकम मन्त्रिपरिषद्को बैठकबाट माग गर्ने पनि निर्णय गरेका छौं।’ आपतकालीन अवस्थाका लागि राष्ट्रिय खाद्य सुरक्षा भण्डारण कोषमा २५ हजार र सार्कको फुड बैंकमा आठ हजार क्विन्टल मौज्दात राखिएको छ।

कहाँ कति छ राहत ?

  • थापाथली ३४८३४ क्विन्टल (चामल)
  • विर्तामोड ७८०० क्विन्टल
  • विराटनगर ४०७६ क्विन्टल
  • लहान २३५८६ क्विन्टल
  • जनकपुर ३३०० क्विन्टल चामल
  • वीरगन्ज १२८८८ क्विन्टल
  • भैरहवा ५०९३ क्विन्टल
  • नेपालगन्जमा ८८० क्विन्टल
  • राजापुर ९३५२ क्विन्टल
  • धनगढी २७५४ क्विन्टल
  • काठमाडौं ९ क्विन्टल (कर्णालीको सिमी दाल)
  • वीरगन्ज ५० हजार पोका नुन र तेल




Comments

comments

Leave a Reply

19278