नाट्यकर्मीहरुलाई १ लाखको बीमा

नेपाली नाट्यकर्मीहरुका लागि कार्यस्थलमा हुने दुर्घटनाका लागि रु १ लाख बराबरको बीमा गरिने भएको छ। नाट्यकर्मी महासंघद्वारा आयोजित एक कार्यक्रममा महासंघ र राष्ट्रिय बीमा कम्पनी बीच सो सम्बन्धी सम्झौता गरिएको छ।

नाट्यकर्मी महासंघले मासिक रुपमा आयोजना गर्न शुरु गरेको ‘नाट्य विमर्श’ कार्यक्रम अन्तर्गत पहिलो श्रृंखलामा ‘ नाट्यकर्मीहरुको सामाजिक सुरक्षा ’ विषयक बहस सञ्चालन गरिएको थियो । सोही कार्यक्रममा सो सम्झौता समेत गरिएको हो।

कार्यक्रममा वरिष्ठ नाट्यकर्मी हरिहर शर्माले नाट्यकर्मी महासंघले नाट्यकर्मीहरुको हितका लागि अहिले सम्म कसैले नसोचेको यो कार्यक्रम ल्याएर ठूलो कार्य गरेका बताए। उनले नाट्यकर्मीहरुको काम नाटक गर्नु भएकोले जस्तो सुकै परिस्थिति आए पनि नाटक गरिरहनु पर्ने बताए।

वरिष्ठ नाट्यकर्मी अशेष मल्लले नाट्यकर्मीहरुको सुरक्षाको कार्यक्रम संगीत नाट्य प्रज्ञा प्रतिष्ठानले ल्याउनु पर्ने भए पनि प्रतिष्ठान साना साना ईभेन्टहरुमै अल्मलिएको बताए । प्रतिष्ठानको लागि आफूहरुले आन्दोलन, अनसन आदि गरेर स्थापना भएको भएतापनि अहिले आएर यसको क्रियाकलाप र कार्यक्रमहरु हेर्दा यसको औचित्य नभएको विचार व्यक्त गरे । उनले भने – ‘ यसरी नै राजनैतिक भर्तिकेन्द्रका रुपमा मात्र हो भने बरु यसको बजेट गाउंपालिकाको वडाध्यक्षलाई हस्तान्तरण गरिदिए हुन्छ, प्रज्ञा प्रतिष्ठान भन्दा त वडाध्यक्षले बढी राम्रो काम गर्छन्।’

विमर्शका लागि नाट्यकर्मीहरुको सामाजिक सुरक्षा विषयमा कार्यपत्र पेश गर्दै महासंघका महासचिव राजेन्द्र रिमालले नाटक गर्दागर्दै नाट्यकर्मीको मृत्यु भएमा वा दुर्घटना भई घाईते भएमा त्यसलाई कसले सम्बोधन गर्ने र त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न गरे । उनले अहिले पनि नाट्यकर्मी ज्वाईं र नाट्यकर्मी बुहारी ल्याउन हच्किने समाजबाट नै नाट्यकर्मीहरुको सामाजिक मानक स्पष्ट हुने कुरा कार्यपत्रमा प्रस्तुत गरे । उनले नाट्यकर्मीहरुको सुरक्षाका लागि तीन किसिमको कार्यक्रम ल्याउनु पर्ने कुरा औंल्याए । घटना हुनै नदिने पूर्व तयारी, भईहाले तत्कालिन उद्धारको योजना र त्यसपछि आवश्यक क्षतिपूर्तिको कार्यक्रम अनिवार्य गर्नु पर्ने बताए।

महासंघका अध्यक्ष विजय विस्फोटले गैरसरकारी संस्थाहरुले संचालन गरिरहेको सडक नाटक प्रदर्शनको कार्यक्रमहरुमा सहभागी हुने नाट्यकर्मीहरुको अनिवार्य दुर्घटना बीमा गरेकै हुनु पर्ने दिशामा महासंघ लाग्ने बताए। नाट्यकर्मीहरुको बीमा नगरिएको सडक नाटक स्वीकृत गर्न नदिने समेत बताए । उनले महासंघको स्थापना पश्चात भएका उपलब्धिहरुका बारेमा बहस कार्यक्रममा जानकारी पनि गराएका थिए।

बहसमा सहभागी नाट्यकर्मीहरुले सुरक्षा र बीमा सम्बन्धि विभिन्न जिज्ञाशाहरु राखेका थिए । साथै सुरक्षाको सवाल संवेदनशील समेत हुने बताउ“दै विभिन्न सुझावहरु दिएका थिए।

कार्यक्रममा साँस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले सांस्कृतिक संस्थानले नाट्यकर्मीहरुको समस्याका बारेमा अझ बढी नजीकबाट बुझ्नका लागि महासंघसंग सहकार्य गरी बहसको थालनी गर्न खोजेको बताउंदै कार्यक्रमको औचित्य पुष्टि गरे । उनले यो बहस कार्यक्रममा खासगरि तीन वटा काम गर्नु पर्ने बताए । नाट्यकर्मीहरुको समस्या पहिचान, समस्याको कारणको पहिचान र समस्या समाधानको कार्ययोजना बनाई अघि बढ्नु पर्ने औंल्याए।

कार्यक्रममा महासंघका उपाध्यक्ष प्रवीण पुमाले बहस कार्यक्रमको बारेमा बताएका थिए भने बीमा कम्पनीका तारा चौलागाईंले बीमा सम्बन्धमा बोलेका थिए।





Comments

comments

Leave a Reply

19351