नेपालीबाट विदेशमा भएका अपराधको अनुसन्धान नेपालमा हुंदै

नेपालीबाट विदेशमा भएका अपराधको अनुसन्धान नेपालमा हुंदै

एक नेपाली युवालाई टर्कीमा अपहरण गरेर बंगलादेशमा फिरौती असुल गरिएको घटनाको प्रहरीले अनुसन्धान अघि बढाएको छ।

नेपाल प्रहरीको पहलमा अपहरणकारीको बंगलादेशमा रहेको बैंक खाता रोक्का गरिएको छ। इन्टरपोलमार्फत प्रहरीले अपहरणकारी पक्राउ गर्न पहल गरेको खबर नवराज मैनालीले आजको नयाँ पत्रिकामा लेखेका छन्।

रुकुमका झलक नकाल ६ महिनाअघि टर्कीको इस्तानबुलमा अपहरणमा परेका थिए। नौ हजार अमेरिकी डलर दिएपछि उनलाई मुक्त गरिएको थियो। फिरौती भने बंगलादेशमा लिइएको थियो। नकालले नेपाल फर्किएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा उजुरी गरेपछि घटनाको अनुसन्धान अघि बढाइएको हो। परराष्ट्र मन्त्रालयमार्फत फिरौती लिइएको रकम बैंकमा रोक्का राखिएको र अपहरणकारीलाई कारबाही गर्न टर्कीको प्रहरीसँग कुरा भइरहेको सिआइबीका एसएसपी शेरबहादुर बस्नेतले बताए।

कसरी भएको थियो अपहरण ? 
रुकुम मुसिकोटकै प्रकाश वलीमार्फत झलक नकाल एक वर्षअघि भिजिट भिसामा टर्की गएका थिए। जसमा उनको १२ लाख रुपैयाँ खर्च भएको थियो। वली टर्कीमा बस्दथे। उनले इस्तानबुलमा जागिर लगाइदिए। तर, सम्झौताअनुसार तलब नपाएपछि उनले छाडिदिए। अर्को जागिरको खोजीमा रहेका वेला उनै वलीले अर्को जागिर मिलाइदिने भन्दै उनलाई भेट्न डेरामा आए। उनीसहित तीनजना भारतीयलाई कम्पनी हेर्न लैजाने भन्दै एक घरमा पुर्‍याई बन्धक बनाएर पैसा माग्न थालियो। एक साता बन्धक बनाएपछि कोरियामा रहेका आफ्ना दाइमार्फत उनले नौ हजार अमेरिकी डलर पुबाली बैंकमा पठाएका थिए।

पैसा पठाएर रिहा भएपछि उनले प्रहरीमा उजुरी गरे। तर, टर्कीको प्रहरीले चासो नदिएपछि उनी नेपाल फर्किए। सिआइबीले प्रकाश वलीसहित बंगलादेशी नागरिकहरू मोहम्मद अनवर मलिक र मोहम्मद मनन मलिकविरुद्ध मुद्दा दायर भएको छ। ‘उनीहरूविरुद्ध रेड कर्नर नोटिस जारी गर्ने प्रक्रिया अघि बढाएका छौँ,’ एसएसपी बस्नेत भन्छन्, ‘उनीहरूलाई नेपाल ल्याएर कारबाही गर्ने प्रयासमा छौँ।’ टर्कीको प्रहरीसँग पनि कुरा भइरहेको सिआइबीले जनाएको छ। नेपाल प्रहरीकै पत्राचारका आधारमा फिरौती पठाइएको बंगलादेशको पुबाली बैंकमा रहेको मनन मालिकको खाता पनि रोक्का गरिएको छ। उनको खातामा सात लाख तीन हजार ८९ बंगलादेशी टाका रोक्का छ। इन्टरपोलको सहयोगमा सो पैसा फिर्ता ल्याउने प्रक्रियासमेत परराष्ट्र मन्त्रालयमार्फत नेपाल प्रहरीले अघि बढाएको छ।

यसअघि पनि भएको थियो अनुसन्धान 
विदेशमा भएको अपराधको नेपालमा अनुसन्धान गरेर मुद्दा दायर गरिएको यो पहिलो घटना होइन। विगतमा पनि नेपाल प्रहरीले विदेशमा भएका अपराधको नेपालमा अनुसन्धान गरी मुद्दा दायर गरेको छ। तीन वर्षअघि नेपालका मेनपावर व्यवसायी रामप्रसाद नेपालको मलेसियामा अपहरण भएको थियो। व्यापारसम्बन्धी छलफल गर्न भन्दै मलेसिया बोलाएर अपहरण गरी फिरौती मागिएको थियो। जुन घटनाको पनि सिआइबीले अनुसन्धान गरेको थियो। जसमा संलग्न कमल गौलीलाई सिआइबीले नेपालबाटै पक्राउ गरी अपहरण मुद्दा दायर गरेको थियो। अपहरणकारीले उनलाई चढाएको गाडी दुर्घटनामा परेका वेला उनी भागेर नेपाल आएका थिए।

त्यस्तै, ग्रिसमा अपहरणमा परेका संखुवाभासमा कृष्ण गुरुङलाई पनि नेपाल प्रहरीकै पहलमा अपहरणमुक्त गराएको थियो। अपहरितका आफन्तले नेपालमा उजुरी गरेपछि ग्रिसको प्रहरीलाई आग्रह गरी गुरुङलाई मुक्त गरी अपहरणकारीलाई पक्राउ गराउन सफल भएको थियो।

तीन वर्षअघि थाइल्यान्डमा गएर नेपाल प्रहरीले अनुसन्धान गरेको थियो। तीन नेपाली विद्यार्थी अपहरणमा परेको सिआइबीका एक अधिकारी थाइल्यान्ड गएरै अनुसन्धान गरेका थिए। फिरौती बुझेर थाइल्यान्ड पठाउन खोज्ने सुजन यादवलाई नेपालमा पक्राउ गरी अपहरण मुद्दामा कारबाही गरेको थियो। उनले अपहरणमा परेका एक विद्यार्थीको परिवारबाट एक करोड रुपैयाँ लिएर हुन्डीमार्फत पठाउने प्रयास गरेका थिए। ‘जुनसुकै ठाउँमा बसेर अपराध गरे पनि अब जोगिन गाह्रो छ,’ सिआइबीका एसएसपी बस्नेत भन्छन्, ‘जुनसुकै देशमा बसेर अपराध गरे पनि नेपालमा अनुसन्धान र कारबाही गर्न सक्ने भएका छौँ।’





Comments

comments

Leave a Reply

19628