अवैध बिटक्वाइन कारोबारमा संलग्न ७ जना पक्राउ

अवैध भर्चुअल मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार गरी ठगी गरेको आरोपमा सातजनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ।

नेपाल र विदेशमा समेत अवैध क्रिप्टोकरेन्सी ग्र्याभिटी क्वाइन र बिटक्वाइन कारोबार गर्ने सातजनाको गिरोहलाई प्रहरीले देशका विभिन्न स्थानबाट पक्राउ गरेको खबर नयाँ पत्रिकाले छापेको छ।

उनीहरूलाई प्रहरीले गत बुधबार एकैपटक पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) पुष्कर कार्कीले बताए । ठगी आरोपमा पक्राउ परेकालाई शुक्रबार जिल्ला अदालत काठमाडौंले २५ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको डिआइजी कार्कीले जानकारी दिए ।

७ जना ठगहरू पक्राउ
नक्कली क्रिप्टोकरेन्सीको अवैध कारोबारसम्बन्धी समाचार नयाँ पत्रिकाले प्रकाशन गरेपछि प्रहरीले ठगीमा संलग्न गिरोहको अनुसन्धान सुरु गरेको थियो । पक्राउ पर्नेमा स्थायी घर सिन्धुली कल्पवृक्ष–४ तथा सर्लाहीको हरिऔन घर भएर काठमाडौं बस्दै आएका ज्ञानप्रसाद (जिपी) पौडेललगायत छन् । पौडेल ग्र्याभिटी क्वाइनको नाममा नक्कली क्रिप्टोकरेन्सी बनाएर ठगी गर्ने नाइकेमध्ये एक हुन् ।

त्यस्तै, अर्घाखाँची खन–७ स्थायी घर भएर काठमाडौं बस्दै आएका माधव खनाल, काठमाडौं–३४ घर भई कामनपा–४ भाटभटेनी बस्ने प्रशान्तप्रताप शाह पक्राउ परेका छन् । त्यस्तै नुवाकोट बेलकोट–५ टिगाउँ स्थायी घर भएर कलंकी बस्दै आएकी २४ वर्षीया बिन्दा ढकाल, सिन्धुपाल्चोक हेलम्बु–७ स्थायी घर भएका मिङमार तामाङ, कामनपा–९ घर भएर ललितपुर हरिसिद्दी बस्ने दमन बस्नेत र रुपन्देही उपमहानगरपालिका–११ घर भएका मनीषकुमार गिरीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले ठगी गर्नेले प्रयोग गरेका ल्यापटप, कम्प्युटर, मोबाइललगायत उपकरण जफत गरिसकेको र अनुसन्धानका क्रममा रहेको कार्कीले बताए ।





Comments

comments

Leave a Reply

19985