ब्रिटिश गोरखाहरुका नागरिकतामा राजनैतिक अधिकार कटौती गर्नु राष्ट्रघाती

राष्ट्रवादी ब्रिटिश गोरखाहरुका नागरिकतामा राजनैतिक अधिकार कटौती गर्नु राष्ट्रघाती कदम हो
बेलायत, हङ्कङ लगायत हाल बिभिन्न देश बिदेशमा रहेका सम्पूर्ण ब्रिटिश गोरखाहरु र गोरखाका परिवारहरुले अब सचेत भएर आफ्नो अस्तित्व र राष्ट्रियताका लागि बुद्धि, बिवेक,समय र सामर्थ्य लगाएर सशक्त आन्दोलनमा उत्रनु पर्ने स्थितिको सम्भावना बढेर गएकोछ।

हामीले गणतन्त्र नेपालको पहिलो संबिधानसभा गठनभए देखि नै ” हामी ब्रिटिश गोरखाहरु बेलायत, हङकङ, रोजगारीको शिलशिलामा अस्थाइ बसोवास गर्दैमा गैरआवासीय नेपाली (एनआरएन) हुँदैनौं; र होइनौं; भन्दै आएकाछौं।

कारण, हामी नेपाली नागरिककै हैसियतले नेपाल सरकारद्वारा बेलायती सेनामा पठाईएका हौं। र बेलायत सरकारबाट हाम्रो पराक्रमको सम्मान स्वरुप “मानार्थ नागरिकता”हामीले प्राप्त गर्दा हाम्रो नेपाली नागरिकतामा सुबिधा कटौती हुन हुँदैन। हाम्रो जन्मशिद्ध नागरिकको अधिकार यथास्थिति मै कायम रहनुपर्दछ, भनेर अनवरतरुपमा नेपाल सरकार, सम्बन्धित निकायहरु र राजनैतिक पार्टीहरु, जिम्मेवार नेताहरुलाई लिखित एवम मौखिकरुपमा अनुरोध गरीरहेका छौं।

हाम्रा (गोरखाहरुका) नेपाली नागरिकता यथावत रहनपर्ने मुख्य कारणहरु :

• सन १९४७ सालमा भएको नेपाल, बेलायत र भारत बिचको त्रिपक्षिय सन्धी अन्तर्गत नेपाल सरकारले बेलायती राष्ट्रिय सैन्यसेवामा
गोरखाहरुलाई पठाएको हो। उक्त सन्धीमा “गोरखाहरु नेपाली नागरिक भएरै बेलायती सेनामा प्रवेश गर्छन् र सेवा निवृत्त हुँदा पनि नेपाली नागरिक नै रहन्छन्” भनिएकोछ।

• यसैक्रममा, बेलायत सरकारले सैन्यसेवामा उच्चस्तरिय सेवा पुर्याए वापत ईच्छुक गोरखाहरुलाई सन २००९ यता सम्मानार्थ बेलायती “मानार्थ नागरिकता” दिने निती लिएकोछ। बेलायत, हङकङमा बसिन्जेल गोरखाहरुलाई बिभिन्न कारणले यो सुबिधा लिन पर्ने वाध्यताछ। र “सम्मानार्थ नागरिकता” को ब्यवस्था नेपालको संबिधानमा पनि रहेकाले गोरखाहरुका नेपाली नागरिकतामा अधिकार कटौती गर्नुपर्ने कारण छैन।

• गोरखाहरु नेपालका आदिवाशी बंशजका जन्मशिद्ध नागरिक हुन्। नेपालका लागि करीब पउने दुई सताव्दी सम्म गोरखाहरुले मात्र रेमिट्यान्स भित्र्याएर देशलाई ठूलो आर्थिक टेवा पुर्याएका थिए। र अहिले पनि यो क्रम यथावत चलिरहेको छ। गोरखाहरुको यो देश (नेपाल) मा घर, जग्गा, उधोग, ब्यापार, बिकास निर्माणका क्षेत्रमा ठूलो लगानी छ। अर्को भुल्न नहुने कुरो, गोरखाहरु नेपालका सम्मानित पहिचान पनि हुन्। जसले संसार भरी नेपाललाई बीर गोरखाको देश नेपाल भनेर चिनाएका छन्। विश्वले नेपाललाई बिशेष गरी तीनवटा नामबाट चिन्दछ:

• सगरमाथाको देश, • बिर गोरखाको देश र • बुद्धको देश। देशको अभिन्न अंगका रुपमारहेका गोरखाहरुलाई दोस्रो दर्जाका नेपाली नागरिक बनाउन किन प्रयास गरिंदैछ ? के अब गोरखाहरुको उपयोगिता सकिएकोहो? गोरखाहरुले बिदेशी भूमिमा रगत, पसिना बगाएर नेपाललाई नाम र दाम दुबै दिएकाछन्, तर देशबाट केही मागे का छैनन्। शिर्फ, आफ्नो पहिचान र राष्ट्रियताको सुनिश्चितत्ता न खोजिएको हो। गोरखाहरु नेपाली नागरिक हुन् र नेपाली नागरिक रहिरहँदा राष्ट्रलाई के क्षति हुने ? या कसलाई, कून बर्गलाई के आपत्ति?

• यदी गोरखाहरुलाई आगामी संबिधानमा आफ्नो नेपाली नागरिकता यथास्थितिमा कायम रहने प्रष्ट ब्यवस्था हुन सकेन वा गोरखाहरुलाई दोस्रो दर्जाको नागरिक बनाउन खोजियो भने, देशलाई ठूलो आर्थिक तथा सामाजिक क्षति हुने निश्चित छ।
तसर्थ उल्लेखित कारणहरुलाई मध्यनजर गरेर हाम्रो (गोरखाहरुका) निम्नलिखित जायज मागलाई निशर्त अविलम्ब कार्यान्वयन गराइनु पर्दछ।

” गोरखाहरुले, बेलायत सरकारले सम्मानार्थ दिने ‘मानार्थ नागरिकता’ लिएता पनि आफ्नो नेपाली नागरिकता यथास्थिति मै कायम रहनपर्दछ। र गोरखाका सन्ततिहरुलाई बंशजका आधारमा बिना बाधा ब्यवधान नेपाली नागरिकता प्राप्त हुनु पर्दछ।”

उल्लेखित हाम्रा मागका बिषयमा, गत २६ सेप्टेम्बर कादिन संबिधान सभाका संबैधानिक, राजनैतिक सम्बाद तथा सहमति समिति अन्तर्गतको बिवाद समाधान उपसमितिमा भएको बैठकमा शीर्षस्थ राजनैतिक पार्टीका प्रतिनिधि सभासदहरुका असहमतिका कारण गोरखाहरुलाई राजनैतिक अधिकार बेगरको नागरिकता (एनआरएनले पाउने सो सरहको) मात्र दिने सहमति भएको जानकारी प्राप्त भएकोछ। यो हामीलाई कुनै हालतमा स्वीकार्य हुन सक्तैन।

त्यसैले, यसका बिरुद्ध सम्पूर्ण गोरखाहरुका तर्फबाट भूतपूर्व सैनिक कल्याणकारी समिति नेपाल र नागरिकता अभियान समिति यूकेले संबैधानिक, राजनैतिक सम्बाद तथा सहमति समितिमा बिरोधपत्र बुझाई सकिएकोछ।

अब जटिल प्रश्न के भने, बेलायत, हङ्कङलगायत विश्वभरि रहेका गोरखाहरु कुनै न कुनै नेपाली राजनीतिक पार्टिमा आवद्ध छन, कोही सकृय नेता, कार्यकर्ताका रुपमा भने कोही समर्थक,सहयोगीका रुपमा। यदी गोरखाहरुले राजनैतीक अधिकारबिहिन नागरिकता मात्र पाउने संबिधानमा व्यवस्था भयो भने गोरखाहरु नेपाली राजनीतिक पार्टीको सदस्य, नेता कार्यकर्ता वा समर्थक रहि रहलान् त? यो नेपालका राजनैतीक पार्टीहरु र नेपाली राजनीतिमा आवद्ध गोरखाहरु दुबै पक्षले गम्भीरताका साथ सोच्ने र निर्णय लिने अवस्था होईन र?

तसर्थ बिभिन्न नेपाली राजनैतीक पार्टीमा आवद्ध गोरखा दाजुभाई, दिदी बहिनीहरुले आफ्नो पार्टीलाई गम्भीरताका साथ प्रष्ट प्रश्न गर्नुपर्दछ कि, ” हामी गोरखाहरु यो देशका आदिवासी, जन्मशिद्ध नागरिक, बेलायत सरकारबाट प्राप्त सहुलियतमा रोजगारीका लागि केही समय बेलायत / हङकङ बस्दैमा कसरी दोस्रो दर्जाका नागरिक भयौं, हुन्छौं? गोरखाहरु बेलायती सेनामा कुनै मेनपावर कम्पनीबाट गएको हो? कि नेपालले गोरखाहरुलाई बेचेको हो?”

गोरखाहरुका नेपाली नागरिकतामा राजनैतिक अधिकार कटौती गर्न दुश्प्रयास गर्ने कुनै पनि राजनैतिक पार्टी वा नेताहरुलाई, राष्ट्रवादी मान्न सकिदैन। त्यस्ता संकिर्ण सोच र षडयन्त्रको घोर भात्सर्ना गरिन्छ र गर्नुपर्दछ।

हामी अझ विश्वाश गर्छौं कि, ” नेपाली काङ्ग्रेस एमाले लगायतका जिम्मेवार सबै पार्टीहरुले देश र जनताप्रति उत्तरदायी बन्दै हाम्रा (गोरखाहरुका) नेपाली नागरिकता यथास्थितिमा कायम रहने र हाम्रा सन्ततीहरुले बंशजका आधारमा नेपाली नागरिकता पाउने व्यवस्था आगामी संबिधानमा प्रष्ट उल्लेख गर्न गराउन जिम्मेवार भूमिका निर्वाह गर्ने छन्।” यदी कुनै पार्टी पंक्तिहरुबाट यो अति सम्बेदनशिल बिषयमा असहयोग या अवरोध भए, त्यसका बिरुद्ध, हामी देश बिदेशमा जस्तो सुकै आन्दोलन संचालन गर्न वाध्य हुने छौं।

तसर्थ हामी (गोरखाहरु) हाम्रो नागरिकताका लागि जुनसुकै परिस्थितीसंग संघर्ष गर्न तयार छौं र तयार रहनुपर्दछ। किन कि हाम्रो राष्ट्र र राष्ट्रियता खोस्ने षड्यन्त्र हाम्रो लागि कदापि मान्य हुँदैन र हुनेछैन।

जय गोरखा !!!

• सूर्य नेम्बाङ
संयोजक – ब्रिटिश गोरखा नेपाली नागरिकता
संघर्स समिती, यूके

• क्या यामबहादुर बुढाथोकी
अध्यक्ष – भूपू सैनिक कल्याणकारी समिती, नेपाल

• सन्तोष थलङ (लिम्बु)
प्रमुख संयोजक
‘गोरखा सत्याग्रह’ तथा ‘ब्रिटिश गोरखा-
नेपाली नागरिकता’ संयुक्त संघर्स समिती –
यूके / नेपाल

• १४ अक्टोबर (सन) २०१४.





Comments

comments

2259