सहाराको आधारभूत फुटवल प्रशिक्षण सुरु

सुदर्शन रञ्जित / एचकेनेपाल डट कम –
पोखरा, १ कार्तिक। सहारा क्लवको आयोजनामा शुक्रबारदेखि पोखरा रंगशालामा एक हप्ते आधारभूत फुटवल प्रशिक्षण सुरु भएको छ।

जिल्ला खेलकुद विकास समिति कास्की र कास्की जिल्ला फुटवल संघको बिशेष सहयोगमा संचालन भएको उक्त प्रशिक्षणमा पोखरा क्षेत्रका करीब ४० जना १२ देखि १४ बर्ष उमेर समुहका वालकहरु सहभागि भएको कार्यक्रम संयोजक तथा क्लवका उपाध्यक्ष हरिराम गुरुङ सुरजले बताए। उक्त प्रशिक्षणमा राष्ट्रिय खेलाडी मनबहादुर तामाङ, सविन श्रेष्ठ र लक्ष्मण जिसी तथा प्रमुख प्रशिक्षक किरण श्रेष्ठले प्रशिक्षण गराउदै छन्।

प्रशिक्षणको उद्घाटन एन्फा कास्कीका कार्यवाहक अध्यक्ष धरमसिंह लामिछानेले प्रशिक्षक किरण श्रेष्ठलाई वल हस्तान्तरण गरी गरेका हुन। दशैं तथा तिहार पर्वको अवसरमा वालकहरुलाई फुटवल खेलतर्फ आकर्षण गर्न उक्त प्रशिक्षण संचालन गरेको संयोजक सुरजले जनाए।

यसै पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक राजेन्द्र तामाङले पोखरा रंगशालामा फुटवल प्रक्षिण गराउदै आएका छन्। विभिन्न उमेर समूहका करीब २५ जना वालक एवं युवाहरुलाई उनले प्रशिक्षण गराउदै आएका हुन्। आधारभूत फुटवल तालिम प्रदान गरी पोखरामा खेलाडी उत्पादन गर्ने लक्ष्य अनुरुप प्रक्षिणमा सुरु गरेको तामाङले बताए। उनले भने “पछिल्लो क्रममा पोखरामा खेलाडीहरु ए डिभिजमा नरहेकोले मलाई निकै दुखः लागेको छ।”





Comments

comments

2297