नौ जनालाई नइ देरुनीखपू बाल पुरस्कार

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २२ कात्तिक। नइ प्रकाशनले आआफ्नो ठाउँमा समर्पित भई प्रतिष्ठा आर्जन गर्ने १५ बर्ष मुनीका नौ जना बालबालिकालाई २०७१ सालको ‘नइ देरुनीखपू पुरस्कार’ प्रदान गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की, शताब्दी पुरुष डा.सत्यमोहन जोशी र नेपाली साहित्यका विश्व नारी रत्न डा. वानीरा गिरीद्वारा आआफ्नो ठाउँबाट प्रतिष्ठा आर्जन गर्ने नौजना बालबालिकालाई शनिवार राजधानीमा आयोजित २०७१ सालको नइ देरुनीखपु पुरस्कार प्रदान गरिएको हो।

नइ प्रकाशनद्वारा आयोजित सो समारोहमा साहित्यतर्फ दीपशिखा घिमिरे, चित्रकलातर्फ असलराज तिम्सिना (सुनसरी), गायनतर्फ निर्मित विष्ट (सुनसरी), नृत्यतर्फ जीया जोशी (चितवन), खेलकुदतर्फ शर्र्मिला गाहा मगर र बहुआयामिकतर्फ सृष्टि महर्जनलाई नइ देरुनीखपु पुरस्कार प्रदान गरियो। ताम्रपत्रसहित यी पुरस्कारका राशि जनही दस हजार रूपियाँ रहेका छन्।

यसै गरी नइ देरूनीखपु कोपिला पुरस्कार सङ्गीतमा प्रकृति मानन्धर र नृत्यमा कशिष शाक्यलाई प्रदान गरिएको छ। ताम्रपत्रसहित यी पुरस्कारका राशि जनही सात हजार रूपियाँ रहेका छन्। साथै ताम्रपत्रसहित पाँच हजार रपियाँ राशिको नइ देरूनीखपु चिचिला पुरस्कार नृत्यका लागि तीन वर्षीया प्रयत्ना सिलवाललाई प्रदान गरिएको छ।

समारोहमा प्रमुख अतिथि अख्तियार प्रमुख लोकमानसिंह कार्कीले नेपाल सरकार र प्रज्ञाप्रतिष्ठानहरूले गर्नुपर्ने पनि काम नइ प्रकाशनले गरिरहेको बताए। अन्तर्राष्ट्रिय जगत्मा नेपालको प्रतिष्ठा बढाउने साहित्यिक र साँस्कृतिक कार्यमा समेत नइ प्रकाशनले महत्वपूर्ण भूमिका खेलेको कार्कीले बताए। शताब्दी पुरुष डा.सत्यमोहन जोशीले नेपाली वाङ्मयको पटभूमिमा अरु संस्था वा व्यक्तिले गर्न नसकेका र गरिमायुक्त काम नइ प्रकाशनले गर्दै आएको साथै अन्तर्राष्ट्रिय स्तरको साहित्यिक कार्यमा समेत नइ प्रकाशनले सफलता पाउँदै आएको बताए।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा सम्पन्न समारोहमा सदस्यसचिव नरेन्द्रराज प्रसाईले पनि मन्तव्य प्रकट गरेका थिए।

समारोहमा पुरस्कृत बालबालिकाले आआफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। नइ प्रकाशनले देशदेशान्तरका प्रतिभालाई हरेक वर्ष ११ लाख रूपियाँ राशिका २६ वटा पुरस्कारहरू प्रदान गर्दै आएको छ।





Comments

comments

2314