मकवानपुर । ‘लिटिल बुद्व’ भनेर प्रचार गरिएका रामबहादुर बम्जनको तपस्यास्थलबाट हराएकाहरुको खोजी प्रहरीले तीब्र पारेको छ।
उनीहरु बेपत्ता भएको भन्दै परिवारका सदस्यले उजुरी दिएपछि प्रहरीको सक्रियता बढेको खबर कान्तिपुर दैनिकमा छ।
हराएकाहरुबारे परिवारसँग विस्तृत रुपमा बुझ्ने र बम्जनको तपस्यास्थलबारे तथ्यांक लिने काम भइरहेको प्रहरी उपरिक्षक बुद्विबहादुर गुरुङले बताए।
‘बम्जन अहिले सिन्धुलीस्थित आश्रममा रहेको अपुष्ट जानकारी आएको छ,’ उनले भने । बाराको हलखोरियामा तपस्या सुरु गरेका बम्जनको सिन्धाुपाल्चोकको बाँडेगाउँ, सर्लाहीको पत्थरडाँडा, लमजुङ र सिन्धुलीमा तपस्यास्थल रहेको प्रहरीको भनाई छ।
हलखोरियामा आनी बन्न गएकी हेटौंडा–१६ की पासाङ भन्ने फुलमाया रुम्बा २०७१ सालदेखि हराएकाले खोजी गरिदिन भाइ विजय रुम्बाले बुधबार जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा उजुरी दिएका थिए ।
मकवानपुरको पदमपोखरी वनस्पतिका महेन्द्र वाइवाले पनि बाबु सञ्चालन वाइबा बम्जनकै तपस्यास्थलबाट बेपत्ता भएको भन्दै बुधबारै उजुरी दिएका थिए।