म्यानपावरको धरौटी ६ करोड पुर्याउने प्रस्ताव

काठमाडौं, सरकारले म्यानपावर व्यवसायीको धरौटी रकम बढाउने तयारी गरेको छ।

वैदेशिक रोजगारीमा ठगी बढेको र व्यवसायी जिम्मेवार हुन नसकेको भन्दै सरकारले धरौटी रकम बढाएर ६ करोड रुपैयाँ पुर्‍याउने प्रस्ताव संसदमा लगेको हो। अहिले उक्त धरौटी रकम ३० लाख छ।

संघीय संसद्ले केही नेपाल कानुन पारित गरेमा यो व्यवस्था लागू हुनेछ। धरौटी बढेमा बिचल्लीमा परेका कामदार उद्धार गर्न, क्षतिपूर्ति भराउन सजिलो हुने मन्त्रालयको अपेक्षा छ। केही महिनाअघि मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार पाँच हजारसम्म कामदार पठाउने म्यानपावरले एक करोड रुपैयाँ नगद धरौटी र दुई करोड रुपैयाँ बैंक ग्यारेन्टी राख्नुपर्नेछ। पाँच हजारभन्दा बढी कामदार पठाउने म्यानपावरले दुई करोड नगद र चार करोड रुपैयाँ बैंक ग्यारेन्टी राख्नुपर्ने छ।

अहिलेको प्रावधानअनुसार म्यानपावर व्यवसायीले सात लाख नगद र २३ लाख बैंक ग्यारेन्टी राख्ने व्यवस्था छ। दर्ता भएका करिब १४ सय म्यानपावरमध्ये एक/दुईवटाले मात्रै पाँच हजारभन्दा बढी कामदार पठाउन सकेका छन्। अधिकांश कामदारले पाँच हजारभन्दा कम कामदार मात्रै वैदेशिक रोजगारीमा पठाइरहेका छन् । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

26261