पाँच पूर्वप्रधानमन्त्रीलाई ढाका टोपी लगाइ दिएर मनाइयो नेपाली टोपी दिवस

काठमाडौं-नेपाली टोपी प्रतिष्ठानले गणतन्त्र नेपालका पाँच पूर्वप्रधानमन्त्रीहरुलाई ढाका टोपी लगाइ दिएर मंगलबार छैठौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाएको छ ।

प्रतिष्ठानका पदाधिकारीले पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबबुराम भटराईलाई उनीहरुकै निवासमा पुगेर नेपाली टोपी लगाईदिएका थिए । ती सबै पूर्वप्रधानमन्त्रीहरुले समेत नेपाली टोपी प्रतिष्ठानको सदस्यहरुलाई टोपी लगाई शुभकामना आदनप्रदान गरेका थिए ।

पूर्व प्रधानमन्त्री एवं सत्तारुढ दल नेकपाका अध्यक्ष दाहालले नेपालको संस्कृति र पहिचानको संरक्षण गर्ने उद्देश्यले मनाउन थालिएको दिवसको सफलताको कामना गरेका थिए । उनले यो अभियानमा आफ्नो पुर्ण साथ रहने बताए ।

त्यस्तै नेपाली काँग्रेसका सभापति समेत रहेका पूर्व प्रधानमन्त्री देउवाले नेपालको साँस्कृतिक महत्व बोकेका यस्ता कार्यक्रमले नेपालीहरुलाई एकताको सुत्रमा बाँध्ने बताए । पूर्वप्रधानमन्त्रीहरु नेपाल, झलनाथ खनाल र डा. भटराइले पनि यस अभियानलाई सकारात्मक रुपमा लिदै अन्तर्राष्ट्रिय स्तरमा नेपालीकोे पहिचान जोगाउन अभियानले सहयोग पुग्ने बताए ।

नेपाली युवाले बिगत ५ बर्षदेखि बर्षेनी जनवरी १ तारिखको अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउँदै आएका छन् । नेपाली युवालाई आफ्नो पहिचानको संरक्षण गर्न झक्झक्याउन र नेपाली पहिचानलाई विश्वमाझ स्थापित गर्ने प्रयासका रुपमा यो दिवस मनाउने गरिएको हो । विश्वभरका नेपालीले मंंगलबार नेपाली टोपी लगाएर खिचिएका तस्बिर सामाजिक संजालमा पोष्ट गरेका छन् ।

अभियानलाई ब्यापक बनाउन गत वर्ष संस्थापक अभियन्ता डा. लेखनाथ काफ्ले, शंकर बन्जाडेलगायतको पहलमा गैर नाफामुलक नेपाली टोपी प्रतिष्ठान नामक संस्था गठन गरिएको छ । यस वर्ष टोपी प्रतिष्ठानका सल्लाहकार तथा रोमानियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत नवराज पोखरेलको पहलमा ३९ देशमा नेपाली टोपी प्रतिष्ठानका शाखा गठन भइसकेका छन् ।

प्रतिष्ठानले विश्वभरका नेपाली नागरिक एवं नेपाली मूलभाषीहरुले सर्वमान्य रुपमा प्रयोग गर्दै आएको नेपाली टोपीलाई सरकारी स्तरबाटै अन्तर्राष्ट्रिय पहिचानको मान्यता प्रदान गर्ने गरि जनवरी १ लाई अन्तर्राकष्ट्रिय नेपाली टोपी दिवसको रुपमा स्थापित गराउन पहल गरि दिन नेपाली टोपी प्रतिष्ठानले गणतन्त्र नेपालका पाँच पूर्व प्रधानमन्त्रीलाई ज्ञापन पत्रसमेत बुझाएको छ ।





Comments

comments

Leave a Reply

26341