सेनाका राहदानीवाहक घोडा, हाडनातामा ‘नो ब्रिडिङ’, प्रत्येकको तीनपुस्ते वंशावली रेकर्ड

भरतपुर, नेपालमा घोडा उत्पादन गर्ने उद्देश्यले सरकारी निकायबाटै खोलिएको एक मात्रै उत्पादन केन्द्र चितवनको भरतपुरमा छ।

‘सैनिक इक्वाइन ब्रिडिङ सेन्टर’ नामको सो केन्द्रमा हाल स्वदेशी तथा विदेशी गरी ७३ वटा घोडा छन् । राजधानी दैनिकले समाचार छापेको छ ।

प्रत्येक घोडाका आआफ्नै नाम छन् भने आफ्नै इतिहास छ । विदेशबाट ल्याइएका घोडाको राहदानीसमेत छ । उनीहरूको तीनपुस्ते विवरण, जन्ममिति, बेलाबखत लगाइएका खोपलगायतको विवरणसमेत राखिएको छ । यहाँ उत्पादन गरिने घोडामा ब्रिडिङ गराउँदा नै हाडनाताको समेत ख्याल गर्ने गरिएको छ ।

एउटा घोडाको ‘ब्रिड’ अर्को घोडासँग उत्पादनका लागि मेल गराउँदा उसको बीउ (ब्रिड) को प्रोफाइल हेर्ने गरिएको हो । जसका कारण उनीहरूको हाडनाताभित्रको बीउ घोडा उत्पादनमा प्रयोग हुँदैन ।

उत्पादन केन्द्रको प्रमुखको जिम्मेवारी सम्हालिरहेका नेपाली सेनाका प्राविधिक सेनानी डा. एमपी शाहले प्रत्येक घोडाको हाडनाताको सम्बन्ध छुट्याइएको र एकै हाडनाताभित्र पर्ने घोडाको ब्रिडको प्रोफाइल हेरेर उत्पादनमा प्रयोग गर्ने गरिएको जनाए ।

‘प्रत्येक घोडाको विवरण राख्ने गरिएको छ, आमा, बुबा, हजुरबुबा, हजुरआमादेखि कम्तीमा तीनपुस्तासम्मको विवरण राखिन्छ, उत्पादनमा सो प्रोफाइल हेरेर ब्रिड क्रस गर्ने गरिएको छ, हाडनाताभित्र उत्पादन हुँदैन,’ प्राविधिक सेनानी शाहले भने । केन्द्रमा रहेका घोडाका आआफ्नै नाम छन् । विदेशबाट ल्याइएका घोडालाई विदेशी नाम नै दिइएको छ भने केन्द्रमा नै जन्मिएका घोडाको भने नेपाली नाम राखिएको छ ।

भारतबाट २०६९ वैशाखमा ल्याइएका बाबु शर्मा, लन्डन ब्वाई नामका घोडा केन्द्रका आकर्षण हुन् । यस्तै निभा, गण्डकीलगायतका नाम घोडालाई दिइएको छ । यस केन्द्रमा पर्चेनियन र नोराइकरलगायतका जातका घोडा छन् ।





Comments

comments

Leave a Reply

26398