सुबास मल्ल / एचकेनेपाल डट कम-
ढाका, १७ कार्तिक। बंगलादेशको राजधानी ढाकामा प्रथम अन्तर्राष्ट्रिय आजिविका सम्मेलन (इन्टरनेशनल करियर समिट) आइतबार सम्पन्न भएको छ। नेपालसहित १२ देशका युवाहरुको सहभागितामा युनाइटेड इन्टरनेशनल युनिभर्सिटीमा सम्पन्न उक्त सम्मेलनको समापन सत्रलाई सम्बोधन गर्दै बंगलादेश बैंकका गभर्नर डा. अतिउर रहमानले विकाशिल देशहरुमा व्याप्त बेरोगारी र गरिबीको समाधान गर्न दिगो तथा समावेशी समृद्धि तर्फ लाग्नुपर्नेमा जोड दिए। उनले बजारको माग दिनानुदिन परिवर्तन भइरहेकाले त्यसलाई पूर्ति गर्न सक्ने गरी तयार हुन पनि युवाहरुलाई सुझाए।

समापन समारोहलाई बंगलादेश बैंकका डेपुटी गभर्नर सितांसु कुमार चौधरी, न्युजिल्याण्डका लागि बंगलादेशका कन्सुलर नायज अहमद, युनाइटेड इन्टरनेशनल युनिभर्सिटीका उपकुलपति प्रा. डा. मोहम्मद रिजवान खान, कार्यक्षेत्र सिप विकास प्रतिष्ठान, न्युजिल्याण्डका उपाध्यक्ष मोहम्मद वासिमुल बारी लागायतका अतिथिहरुले पनि बोलेका थिए । नेपाली टोलीले विश्वविद्यालयका उपकुलपति तथा सम्मेलन आयोजक कमिटिका संयोजक प्रा. डा. खानलाई ‘बुद्ध नेपालमा जन्मेका हुन्’ लेखिएको बुद्धको मूर्ति उपहार प्रदान गरेका थिए।
सम्मेलनको समापन पश्चात नेपाली टोलीको सम्मानमा बंगलादेशका समाज कल्याण मन्त्री मोहसिन अलिले रात्रिभोजको आयोजना गरेका थिए । रात्रिभोजलाई सम्बोेधन गर्दै मन्त्री अलिले नेपाल र बंगलादेशका धेरै समस्याहरु उस्तै भएकाले मिलेर समाधान गर्नुपर्नेमा जोड दिए। उनले दक्षिण एसियामा व्याप्त आतंकवादलाई सबै मिलेर जरैदेखि फ्याँक्न नसके संसारको सबैभन्दा सम्भावना रहेको क्षेत्र तहसनहस हुनेमा आशंका व्यक्त गरे। नेपाल र बंगलादेशको अर्थतन्त्र उस्तै भए पनि पछिल्लो समय बंगलादेशले प्रगति गर्न सकेकोमा भने उनले सन्तोष व्यक्त गरे।
नेपाली टोलीको तर्फबाट मन्त्री अलिलाई पनि त्यस्तै बुद्धको मूर्ति उपहार प्रदान गरिएको थियो । मन्त्री अलिले पनि नेपाली टोलीलाई विशेष उपहार प्रदान गरेका थिए । रात्रिभोजमा बंगलादेशी घरेलु कपडा बोर्डका अध्यक्ष आसित कुमार मुकुटमोनी, आयकर आयुक्त ए. के. बोरहानुद्दिन, बंगलादेशको सबैभन्दा ठूलो गैरसरकारी संस्था ब्राकका सिनियर म्यानेजर मोहम्मद खुर्सिद, बर्ना समाजकल्याण संस्थाकी महाप्रबन्धक अर्पणा वाला लगायतको पनि उपस्थिती थियो।
कार्यक्रममा नेपाली टोलीका तर्फबाट युथ भोलेन्टियर फर चेञ्जका अध्यक्ष सुवास मल्लले नेपाल र बंगलादेश जस्ता दक्षिण एसियाली देशहरुले साझा मुद्दाहरुमा एक ठाउँमा उभिनुपर्नेमा जोड दिए। अतिथिहरु र नेपाली टोलीबीच बंगलादेशका विविध विषयवस्तु, युवा सशक्तिकरण तथा द्विपक्षिय हीतका सवालहरुमा पनि अन्तरक्र्रिया भएको थियो। कार्यक्रममा बंगलादेशका चर्चित कलाकारहरुले आफ्नो लाइभ गायन समेत प्रस्तुत गरेका थिए। सांस्कृतिक सत्रको शुरुवात मन्त्री अलिको गायनबाट भएको थियो भने अन्त्यमा नेपाली टोलीले पनि ‘रेशम फिरिरि’ गाएका थिए।


