डिसीमा उल्टो साईकल यात्रीलाई सम्मान

विजय थापा / एचकेनेपाल डट कम-
भर्जिनिया, १७ कार्तिक। डिसी महानगर क्षेत्रको भर्जिनियाको फल्स चर्चमा डिसी महानगर क्षेत्रमा रहेका बिभिन्न संघ तथा संस्थाको संयुक्त आयोजनामा बिश्वकै पहिलो उल्टो साईकल यात्री बिरेश दाहाल (उदयपुर) र अर्का बिश्व साईकल यात्री बरुण अधिकारी (उदयपुर) लाई फल्स चर्चस्थित एक चमेना गृहमा स्वागत तथा सम्मान गरिएको छ।

बीजेन्द्र महरा (पाँचथर) सन्चो नभएको कारण न्यु योर्कबाट डिसी आउन सकेनन्। भर्जिनियामा भएको उक्त स्वागत तथा सम्मान कार्यक्रममा अमेरिकाका लागि नेपाली दूतावासका कार्यबाहक राजदूत ऋषिराम घिमिरेले साइकल यात्रीहरुले गरेको अदम्य साहसको प्रसंशा गर्नु भएको थियो।

“दिगो शान्ति, बिश्व मानव भाईचारा र नेपाली पहिचानको निम्ति” मुल नारा बनाएर बिश्व उल्टो साइकल यात्रामा निस्किएका दहालले सन् २०१९ सम्म १५१ देशको यात्रा पुरा गरेपछि आफ्नो यात्रा स्थगन गर्ने बताएका छन्।

बिश्व उल्टो साईकल यात्री बिरेश दाहालको बिश्व यात्राबारे श्रब्यदृश्य प्रस्तुत गरिएको थियो भने उल्टो साईकल यात्री दाहालले आफ्नो बिश्व उल्टो साईकल यात्राबारे जानकारी गराएका थिए। उनी र उनको ३ जनाको समूहले हालसम्म ५८ देशको यात्रा पुरा गरेको र उनले सन् २००४ अप्रिल २७ बाट सुरु गरिएको यात्रा हालसम्म ४७ हजार किलोमिटर उल्टो बसेर साईकल यात्रा गर्न सफल भएको बताए।

उनको यात्राका सहयात्री बिश्व साईकल यात्रीहरु बरुण अधिकारी र बिजेन्द्र महराले भने सुल्टो साईकल यात्रा गर्दछन्। उनीहरुले बिरेश दाहालले उल्टो साईकल चलाउँदा दाहालको अघिल्तिर र पछिल्तिर साईकल चलाएर उल्टो साईकल यात्री दाहालको सुरक्षा गर्दछन्।





Comments

comments

2638