पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल: २५ प्रतिशत निर्माण सकियो

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामले गति लिएको छ।

विमानस्थल निर्माणको २५ प्रतिशत काम पूरा भएको विमानस्थल निर्माण आयोजनाले जानकारी दिएको छ । तोकिएको अवधिभन्दा पहिले नै निर्माण सम्पन्न गर्ने गरी कामले गति लिएको आयोजना प्रमुख बिनेश मुनकर्मीले जानकारी दिए ।

यसअघि पोखरामा आयोजित एक कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको अवधिभन्दा ६ महिनाअघि नै तयार हुने दाबी गरेका थिए । मन्त्री अधिकारीको दाबीअनुरूप नै विमानस्थल ६ महिनाअघि नै तयार हुने आयोजना प्रमुख मुनकर्मीले बताए । ‘मन्त्रीज्यूले भन्नुभएको झैँ ६ महिनाअघि नै निर्माण सम्पन्न हुने ढंगले काम भइरहेको छ,’ उनले भने, ‘यसका लागि सबै प्रकारको वातावरण तयार पनि छ ।’
के–के काम हुँदै छ ?

विमानस्थल निर्माण आयोजनाका अनुसार अहिले विमानस्थलको रनवेमा अन्तिम लेयर ढलान गर्ने काम धमाधम चलिरहेको छ । तीन तहको ढलान गर्नुपर्ने र तेस्रो चरणको ढलानको पनि १० प्रतिशत काम सकिएको आयोजना प्रमुख मुनकर्मीले बताए । उनका अनुसार अहिले साइड सम्याउने काम पनि त्यही ढंगले चलिरहेको छ । एप्रोन निर्माणको काम सकिएको छ ।

जहाज पार्किङ गर्ने स्थल निर्माणको काम पूरा भएको छ । रनवे, टर्मिनल बिल्डिङ, हेंगर बिल्डिङ, कार्गो, एटिसीलगायत अन्य सहायक गरी विभिन्न ११ भवन निर्माण कार्य एकसाथ भइरहेको छ । हेंगरको ढलान कार्य सकिएर स्टिल स्ट्रक्चरको काम सुरु भएको उनले जानकारी दिए । साइड ड्रेनको काम भइरहेको, पाँचवटा कल्भर्टको निर्माणको काम पूरा भएको र सिँचाइ नाला निर्माणको कामसमेत सकिएको मुनकर्मीले बताए ।

असारसम्म ३५ प्रतिशतभन्दा धेरै काम सकिने
निर्माण सम्झौताअनुसार असारसम्म ३५ प्रतिशत काम सक्ने लक्ष्य हो । आयोजना प्रमुख मुनकर्मीले त्योभन्दा धेरै काम सम्झौता अवधिमा भइसक्ने दाबी गरे । उनका अनुसार अहिले निर्माण कार्यमा दैनिक तीन सय ५० जना कामदार खटेका छन् । अहिलेसम्म विमानस्थल आयोजनाले साढे तीन अर्ब रुपैयाँ भुक्तानी दिइसकेको छ । झन्डै ३० करोडको थप बिल आइसकेको उनले जानकारी दिए ।

निर्माण कम्पनीले २०२१ को जुलाई १० मा विमानस्थल निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने सम्झौता हो । यद्यपि, विमानस्थल निर्माणको काम एकचौथाइ सकिँदा नसकिँदै हवाई उडान कम्पनीले आफ्ना विमान उडानका लागि पूर्वाधारप्रति चासो राखिसकेका छन् । बुद्ध एयर, हिमालयन एयरलाइन्स र एउटा चिनियाँ विमान उडान कम्पनीले हेंगरलगायतका पूर्वाधार बनाउने चासो राखेको आयोजना प्रमुख बिनेश मुनकर्मीले बताए । नयाँपत्रिकामा खबर छ।





Comments

comments

Leave a Reply

26756