राजधानी छिर्ने नाकाहरूमा कडा चेकिङ

काठमाडौं, २० कात्तिक। आसन्न सार्क सम्मेलनलाई मध्यनजर गर्दै प्रहरीले उपत्यकामा सुरक्षा सतर्कता बढाएको छ। बाहिरी जिल्लाबाट आउने सवारीसाधनलाई प्रहरीले उपत्यका छिर्ने नाकामा द्वन्द्वकालको झल्को आउने गरी चेकिङ गर्न थालेको छ।

प्रहरीले नागढुंगा, फर्पिङ, जागती र बालाजु नाकामा सवारीसाधनबाट सबै यात्रुलाई झारेर चेकिङ गर्न थालेको समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ। तालिमप्राप्त कुकुरले सहयोगमा प्रहरीले बसमा खानतलासी गर्नुका साथै शरीर जाँच गर्छ। सर्वसाधारणले भने सुरक्षाका नाममा प्रहरीले दुःख दिएको गुनासो गर्न थालेका छन्।

सार्क सम्मेलनको सुरक्षालाई चुस्त बनाउन कडाइका साथ चेकिङ गर्नुपरेको महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी हेमन्त पालले बताए। खासगरी तराईका जिल्लाबाट राजधानी आउने बसहरुमा प्रहरीले बढी निगरानी राख्ने गरेको छ।

थानकोट प्रहरी वृत्तका डिएसपी प्रवीण धितालले सबै बसहरुमा चेकिङ हुने, तर तराईका जिल्लाबाट आउने बसमा थप निगरानी राखिएको बताए। चेकिङकै लागि महानगरीय प्रहरी आयुक्त कार्यालयले थानकोट वृत्तमा थप २० प्रहरी खटाएको छ। फर्पिङ, जागती र बालाजु पनि प्रहरीले जनशक्ति बढाएको छ।





Comments

comments

2684