डा. गोविन्द केसीको अनसनको आवश्यकता नै थिएन । चाँहिदो भन्दा नचाँहिदो माग बढी राखिएका थिए । जेको लागि भनेर माग राखिएको थियो एकातिर त्यो माग नै राख्नु गलत थियो भने अर्कातिर अनावश्यक माग राखेर सरकारलाई बद्नाम गर्ने काम भयो।
बुझेर भन्दा पनि लहडको भरमा कांग्रेसले केसीलाई बोकेपछि उनी झन् आक्रामक हुँदै आए । केसीको मागले स्वास्थ्य क्षेत्रलाई सुधार गर्नुको साटो झन् अस्तव्यस्त बनाएको छ । फेरि अहिले आएर उसले त्यो औषधि खायो र उसले अर्को खानुपर्दथ्यो भनेर जुन कुरा गरियो त्यो झन् खतरा छ। नेपाल समाचारपत्रमा डा. रामकुमार अधिकारीले गंगा बरालसंग गरेको कुराकानीमा भनेका छन्।
म त भन्छु केसीलाई मानवअधिकार दुरुपयोगको मुद्धा लगाउनुपर्छ । औषधी खाएको विषय गोप्य राख्नुपर्ने त्यसरी भाषण गर्न र विज्ञप्ति निकाल्दै हिँड्न मिल्दैन । जनताले केसीलाई साथ दिन छोडेका थिए । नर्स र डाक्टरहरुको ढुक्कै निगरानी हुन्थ्यो र स्वास्थ्यमा समस्या आउनेबित्तिकै आइसियु राखिन्थ्यो त्यसैले यो अनसन पनि होइन।
केसी सरकारी छात्रवृत्तिमा पढेका व्यक्ति हुन्, दुर्गम क्षेत्रमा सेवा गर्न जानुको साटो राजीनामा दिएर हिँडेका हुन् वीर अस्पतालबाट अनि पछि टिचिङमा जागिर खान आएका हुन्।
चिकित्सा विधेयकमा अनमी, सिएम्एजस्ता प्राविधिक विषय हटाउँदै जाने भनिएको छ यो पनि राम्रो कुरा होइन । दुर्गम गाउँमा उनीहरुले दिएको सेवा अतुलनीय छ । मनमोहन मेमोरियल कलेजलाई सम्बन्धन नदिने कुरामा केसी सफल हुनुभयो, खुशी मान्नुभएको होला तर यसले कतिसम्म असर गरेको छ पछि थाहा हुन्छ।