पार्टी कार्यालयमै विद्यार्थी कुटाकुट गर्दा कांग्रेस नेता मौन

काठमाडौं, कांग्रेस केन्द्रीय कार्यालयको परिसरमै आइतबार भ्रातृ संस्था नेविसंघको दुई खेमाका नेता–कार्यकर्ता आपसमै भिडे।

झगडा साम्य पार्न प्रहरी आएर लाठीचार्ज गर्नुप-यो । तर, केन्द्रीय समिति बैठक बस्ने तयारीमा रहेका माउ पार्टीका नेताहरू दोस्रो तलाबाट रमिता हेरेर मात्रै बसे । झगडा मिलाउन आँगनमा झर्ने आँटसमेत गरेनन्।

झडप शान्त भएपछि नेविसंघका नेता–कार्यकर्तालाई पार्टी कार्यालय प्रवेशमा रोक लगाइयो । तर, त्यसपछि बसेको केन्द्रीय समिति बैठकमा आँगनमै मच्चिएको ताण्डवबारे छलफलसमेत भएन । बोल्न खोज्ने नेताहरूलाई पनि सभापति शेरबहादुर देउवाले रुलिङ गरेर बस्न लगाए । सभापति देउवा र कृष्ण सिटौला पक्षका विद्यार्थीबीच झडप भएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ।

पार्टीका भावी नेताहरूको यस्तो अराजकताबारे कांग्रेसले केन्द्रीय समिति बैठकमा छलफल गरेको छैन र त्यसपछि पनि मुख खोलेको छैन । घटनाको छानबिन र दोषीलाई कारबाही गर्ने औपचारिकतासमेत पार्टीले देखाएको छैन । नेविसंघ १२ महाधिवेशनको पर्खाइमा छ।

अध्यक्ष नैनसिंह महरले आफ्नो कार्यकाल र थप गरिएको पाँच महिनाभित्रसमेत महाधिवेशन गर्न सकेनन् । त्यसैले उनले राजीनामा दिए । तर, महरले राजीनामा दिएको १५ दिनपछि पनि तदर्थ समिति गठन नभएपछि नेविसंघमा नेतृत्वविहीनता र अराजकता बढेको छ।

तदर्थ समिति गठन गर्ने बाटो खुलेदेखि नै पार्टी नेतृत्वलाई दबाब दिन विभिन्न समूह अग्रसर भएका छन् । कृष्णप्रसाद सिटौला पक्षले केन्द्रीय समितिको बैठक बस्ने दिन नियमित केन्द्रीय कार्यालयमा प्रदर्शन गर्दै विधानअनुसार ३२ वर्षे उमेरहद लगाएर तदर्थ समिति बनाउन माग राख्दै आएको छ।

यो पक्षले सभापति शेरबहादुर देउवासहितका अरू पदाधिकारी कार्यालय प्रवेश गर्दा घेराउ र नाराबाजी गर्दै आएको थियो । आइतबार पार्टी संस्थापन पक्षका नेता–कार्यकर्ता पनि सानेपा पुगेपछि झडप भयो।





Comments

comments

Leave a Reply

27071