पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, पूर्व उपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ।

करिब सात दशक लामो समय वाम आन्दोलनमा समर्पित गर्दै राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान पुर्‍याएका अधिकारीको ८२ वर्षको उमेरमा शनिबार साँझ धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा निधन भएको हो।

श्वासप्रश्वास, मुटु र फोक्सोमा समस्या देखिएपछि २३ पुषदेखि अधिकारीलाई ललितपुरको मेडिसीटी अस्पतालमा राखिएको थियो । तर, स्वास्थ्यमा थप सुधार नभएपछि चिकित्सकहरुको सल्लाहमा २४ माघमा ह्याम्स अस्पताल सारिएको थियो । स्वास्थ्यमा थप समस्या देखिएपछि १६ दिनदेखि भेन्टिलेटरमा राखेर गरिएको उपचारले पनि स्वास्थ्यमा सुधार भएन । तीन दिनदेखि अधिकारी अचेत थिए ।

संविधानको मस्यौदाकार, लोकप्रिय पूर्व अर्थमन्त्री
०४७ को संविधानको मस्यौदाकार रहेका अधिकारीले ०५१ सालको तत्कालीन एमालेको ९ महिने अल्पमतको सरकारमा वृद्ध भत्ता जस्ता सामाजिक सुरक्षाको कार्यक्रम, गाउँमा बजेट केन्द्रीत गरिएको–‘आफ्नो गाउँ आफैँ बनाऊ’ कार्यक्रम लागू गरेर लोकप्रिय अर्थमन्त्रीको छवी बनाएका थिए । उनकै पालामा सुरु भएको सामाजिक सुरक्षा कार्यक्रमले अहिलेसम्म निरन्तरता पाएको छ । दुई पटक उपप्रधानमन्त्री, चार पटक अर्थमन्त्री, एक पटक यातायात तथा निर्माण मन्त्री, मोरङबाट चार पटक सांसद, संसदीय दलको उपनेता, प्रमुख सचेतक, पार्टीको आर्थिक मामिलासहित विभिन्न विभागीय प्रमुखको जिम्मेवारी सम्हालेका थिए । तत्कालीन शेरबहादुर देउवा र झलनाथ खनाल नेतृत्वको सरकारमा उनी उपप्रधानमन्त्री बनेका थिए।

पूर्व एमालेको छैठौंदेखि आठौं महाधिवेशनसम्म उनले महाधिवेशन आयोजक मूल व्यबस्थापन कमिटीको संयोजकको जिम्मेवारी पनि सम्हाले । पूर्व अर्थमन्त्री अधिकारीलाई तीन खम्बे अर्थ नीतिको बजेट लागू गर्ने योजनाकारका रुपमा पनि लिने गरिन्छ। शुरोजंग पाण्डेले नयाँपत्रिकामा खबर लेखेका छन्।





Comments

comments

Leave a Reply

27126