प्रिय नेतालाई यसरी गरियो पोखरामा अन्तिम बिदाइ !

पोखरा, हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शुक्रबार अन्त्येष्टि गरिएको छ।

पोखरा महानगरपालिकाको रामघाटमा अन्त्येष्टि गर्नुअघि मन्त्री अधिकारीको पार्थिव शरीरमा श्रीमती विद्या, छोराद्वय विराज र स्वराजले दागबत्ती दिए। सरकारको निर्णयअनुसार अधिकारीको शव राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको खबर गोविन्द सुवेदी केसीले नयाँ पत्रिकामा लेखेका छन्।

दाहसंस्कारअघि सेनाको टुकडीले सलामी दिएको थियो । त्यसअघि प्रदर्शनी केन्द्रबाट शुक्रबार दिउँसो निकालिएको शव यात्रा नयाँ बजार, महेन्द्रपुल, रानीपौवा र गीता मन्दिर मार्ग हुँदै रामघाटमा पु-याइएको थियो । अधिकारीको शवमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय झन्डा ओढाएका थिए भने नेकपा नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठले पार्टीको झन्डा ओढाए । अन्त्येष्टिमा संघीय सरकारका कृषिमन्त्री बलदेव शर्मा, श्रममन्त्री गोकर्ण विष्ट, भूमिसुधारमन्त्री पद्मा अर्याल, गण्डकी प्रदेशका मन्त्रीहरू, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, नेकपाका नेताहरू योगेश भट्टराई, घनश्याम भुसाल, प्रधामन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई, कांग्रेस नेता चन्द्र भण्डारीलगायत हजारौँ उपस्थित थिए।

शवयात्रामा हजारौँ सहभागी
प्रिय नेता अधिकारीको अन्तिम श्रद्धाञ्जली र शवयात्रामा हजारौँ सहभागी बने । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हजारौँको संख्यामा सर्वसाधारणको उपस्थिति थियो । गण्डकी प्रदेशका अधिकांश जिल्लाबाट मात्र नभई प्रदेश ५ का पाल्पा, गुल्मी, रुपन्देहीलगायत जिल्लाबाटसमेत सयौँ शुभचिन्तक उपस्थित भएका थिए । बुबा इन्द्र र आमा लक्ष्मीले भक्कानिँदै पुष्प गुच्छा चढाउँदा माहोल झन् भावुक बनेको थियो । मन्त्री अधिकारीको शव शुक्रबार बिहान ११ बजे काठमाडांैबाट पोखरा ल्याएको हो।

काजकिरिया ७ दिन गरिने
अधिकारीको काजकिरिया ७ दिनमा सक्ने परिवारिक स्रोतले जनाएको छ । पोखराको मालेपाटनको जनप्रिय टोलस्थित निवासमा उनको काजकिरिया ७ दिनमा सक्ने परिवारका तर्फबाट अधिकारीका बाल्यकालका साथी धनराज आचार्यले जानकारी दिए । पोखरा प्रदर्शनीस्थलस्थित श्रद्धाञ्जली सभामा परिवारका तर्फबाट बोल्दै आचार्यले अधिकारीको काजक्रिया ७ दिनमा सक्ने बताएका हुन्।

मन्त्री अधिकारीले धर्म, संस्कार र परम्परालाई समयअनुसार परिवर्तन गर्दै जानुपर्छ भन्ने धारणा राख्दै आएको र काजकिरिया ७ दिन कायम गरेर देशभर लागू गर्नुपर्छ भन्ने सोच राखेको आचार्यले बताए । अधिकारीकी धर्मपत्नी विद्या, बुबाआमा, दुई भाइसँग सल्लाह गरेर काजकिरिया ७ दिन गर्ने निर्णय गरिएको हो । आचार्यका अनुसार अधिकारीको काजकिरिया २१ फागुनमा सकिनेछ।

५ जनाको पशुपतिमा अन्त्येष्टि
ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका पाँचजनाको शुक्रबार पशुपति आर्यघाटमा दाह संस्कार गरिएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टर पाइलट प्रभाकर केसी र पर्यटनमन्त्री रवीन्द्र अधिकारीका अंगरक्षक अर्जुनकुमार घिमिरेको शुक्रबार दिउँसो पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको हो । पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको भने आइतबार बौद्ध विधिअनुसार टेकुघाटमा अन्त्यष्टि गरिने परिवारले जनाएको छ।

काठमाडौंमा अन्तिम बिदाइ
यसअघि शुक्रबार बिहान काठमाडौंको टुँडिखेलमा अधिकारीसहित सबै सातजनाको शव श्रद्धाञ्जलीका लागि राखिएको थियो । राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, मन्त्रीहरू, उच्च पदस्थ सरकारी अधिकारी, कूटनीतिक नियोगका पदाधिकारी तथा विभिन्न दलका नेता–कार्यकर्ता र शुभचिन्तकले श्रद्धाञ्जली दिए । प्रधानमन्त्री ओलीले अधिकारीको शवमा राष्ट्रिय झन्डा ओढाएर सम्मान गरे । यस्तै, प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डले संयुक्त रूपमा पार्टीको झन्डा ओढाए।

शोक प्रस्ताव पारित

संघीय संसद्‌का दुवै सभाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले र राष्ट्रिय सभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको शोक प्रस्ताव दुवै सदनले सर्वसम्मतिले पारित गरेका हुन् । अधिकारी ०६४ र ०७० मा संविधानसभा सदस्य थिए भने ०७४ को प्रतिनिधिसभा निर्वाचनमा कास्की २ बाट निर्वाचित भएका थिए ।





Comments

comments

Leave a Reply

27124