श्रीमान जेलबाट छुटेपछि फेरि ममता कुलकर्णी पक्राउ

काठमाडौं, २८ कार्तिक। नब्बेकी दशककी चर्चित भारतीय अभिनेत्री ममता कुलकर्णी लागूऔषध कारोबारको आरोपमा पक्राउ परेकी छिन्। सोसल मिडियाका अनुसार कुलकर्णी श्रीमानसहित केन्यामा समातिएकी हुन्।

आशिक आवारा, वक्त हमारा है, क्रान्तीवीर, करण अर्जुन, सबसे बडा खिलाडी, बाजी, चाइना गेट, बेकाबुजस्ता सफल चलचित्रमा अभिनय गरेकी ४२ वर्षीया कुलकर्णीको अन्तिम चलचित्र भने कभी तुम कभी हम (२००२) हो। त्यसपछि भने उनी सार्वजनिक जीवनबाट लगभग अलग थिइन्।

लागूऔषध कारोबारका अन्तर्राष्ट्रिय व्यापारी विजय ‘विक्की’ गोस्वामीसँग विवाह गरेकी कुलकर्णी त्यसयता यूएईको दुबईमा बस्छिन्। उनी त्यहाँ घरजग्गा र होटल व्यवसायमा सक्रिय रहेको दाबी गरिँदै आएको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा खबर छापिएको छ।

सन् १९९७ मा लागूऔषध कारोबारमा कुलकर्णीका पति विक्कीलाई यूएई सरकारले २५ वर्ष जेलसजाय सुनाएको थियो। तर, जेलमा राम्रो आचरण देखाएपछि उनको सजाय १५ वर्षमा सीमित गरिएको थियो। विक्की गत वर्ष नोभेम्बर १५ मा जेलमुक्त भएका थिए। जेलमा विक्कीलाई भेट्न जाँदा उनको तस्बिर दुबईको पत्रिकामा छापिएको थियो।

जेलमा रहँदा हिन्दुबाट इस्लाम धर्म अँगालेका विक्कीसँगै कुलकर्णीले पनि धर्म परिवर्तन गरी इस्लाम धर्म अँगालेकी थिइन्। जेलमुक्त भएपछि कुलकर्णी विक्कीसँगै केन्याको नौरोबीमा बसाइँ सरेको बताइएको छ। जीवनको लामो समय बिताएका नौरोबीमा विक्की सन् १९९४ मा पहिलोपटक त्यहाँ आएको बताइएको छ।

केन्या प्रहरीले कुलकर्णी र उनका पतिलाई पक्राउ गरेर सोधपुछ गरिरहेको छ। उनीहरुलाई केन्या प्रहरीले आइतबार नै पक्राउ गरे पनि घटना बिहीबारमात्र सार्वजनिक भएको हो।





Comments

comments

2824