पुल्चोकमा दुई समूहबीच भएको झडप (ग्याङ फाइट) मा एक युवाको मृत्यु भएको छ । टेकुका कृष्ण तामाङ र पुल्चोकका अभिस शाहीको समूहबीच शुक्रबार झडप भएको हो।
झडपमा अभिस समूहका २० वर्षीय अञ्चल शाक्यको मृत्यु भएको प्रहरीले जनाएको छ । छुरा प्रहारबाट शाक्यको मृत्यु भएको ललितपुर परिसरका प्रवक्ता डिएसपी नारायण चिमोरियाले बताए । उनले भने, ‘युवतीको विषयमा भएको विवादपछि दुई समूहबीच झडप भयोे । झडपका क्रममा तामाङ पक्षका युवाले शाक्यलाई छुरा प्रहार गरे । यही क्रममा उनको मृत्यु भएको देखिन्छ । घटनाका सम्बन्धमा अनुसन्धान हुँदैछ।’
प्रहरीका अनुसार विवादको विषय बनेकी युवती पहिला शाहीकी प्रेमिका थिइन् । निकै वर्ष प्रेममा रहेपछि युवती एकाएक तामाङलाई प्रेमी बनाइन् । त्यसपछि शाही आक्रोशित भए । मोबाइल नम्बर पत्ता लगाएर तामाङलाई धम्काउन थाले । जवाफमा तामाङले शाहीलाई ठिक पार्छु भने । दुवैबीच विवाद बढ्दै गएपछि तामाङले केही युवा बटुले । लिएर पुलचोकस्थित सुमेरु अस्पताल पछाडितर्फ पुगे । शाही पनि आफ्ना समूहका युवा बटुलेर तामाङको प्रतिपक्षमा थिए । दुई समूहबीच जम्काभेट भएपछि झडप सुरु भयो । एक आपसमा हानाहान मच्चियो । यही क्रममा तामाङ समूहका एक युवाले खल्तीमा लुकाइराखेको चक्कु झिकेर विपक्षमा रहेका शाक्यलाई प्रहार गरे । चोटपछि शाक्य घटनास्थलमै ढले । झडपमा सहभागी दुवै पक्षका युवा आत्तिए । भागाभाग भयो । घाइते शाक्यलाई नजिकै रहेको सुमेरु अस्पताल पु¥याउँदा उनको मृत्यु भइसकेको थियो।
१० जना पक्राउ
प्रहरीका अनुसार घटनामा संलग्न तामाङ र शाहीसहित १० जना पक्राउ परेका छन् । अन्य दुईजना फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । विवादको विषय बनेकी युवतीको परिचय भने प्रहरीले खुलाएको छैन । चिमोरियाले भने, ‘युवतीको विषयमा झडप भयो । घटनामा १२ जना संलग्न भएको पाइएको छ । १० जना पक्राउ परिसके । बाँकी दुईको खोजी भइरहेको छ । घटनाका मुख्य दोषी को हो भन्ने अनुसन्धानपछि पत्ता लाग्ला । दोषीलाई कानुनअनुसार कारबाही हुनेछ।’ नयाँपत्रिकामा खबर छ।