युवतीसित घुसमा किस माग्ने ट्राफिक प्रहरी निलम्बित

काठमाडौं, ४ मंसिर। चेकिङका क्रममा सामान्यत: ट्राफिक प्रहरीले लाइसेन्स र ब्लुबुक माग्छन्। तर, मादक पदार्थ सेवनको चेकिङमा एक ट्राफिक प्रहरीले युवतीसँग किस मागेका छन्।

महानगरीय ट्राफिक प्रहरी प्रभाग सिंहदरबारमा कार्यरत असइ पुरुषोत्तम ढकालले चेकिङका क्रममा युवतीसँग कागजपत्र नभएपछि किस मागेका हुन्। प्रहरी आचरणविपरीतको काम गरेको भन्दै असइ ढकाल निलम्बनमा परेको समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ।

डिल्लीबजारमा सोमबार बेलुका मापसे चेकिङमा खटिएका असइ ढकालले ‘एक किस दिए कारबाही नगर्ने’ भन्दै एक युवतीलाई दुव्र्यवहार गरेको ट्राफिक महाशाखाका एक अधिकारीले बताए। युवतीले उजुरी गरेपछि ढकाल कारबाहीमा परेका हुन्।

प्रहरीका अनुसार चेकिङका क्रममा स्कुटीमा सवार ती युवतीसँग कागजपत्र थिएन। तर, आफूलाई छाडिदिन युवतीले असइ ढकाललाई आग्रह गरेकी थिइन्। तर, ढकालले आफूलाई एकपटक किस गरे कारबाही नगर्ने भन्दै बार्गेनिङ गरेका थिए। पछि उनी डिल्लीबजारबाट अनामनगरसम्म ती युवतीकै स्कुटरमा गएका थिए।

युवतीको मोबाइल नम्बर लिएर बेलुकासमेत असइ ढकालले उनलाई फोन गरेको उजुरीमा उल्लेख छ। स्कुटरमा चढेको वेला आफूमाथि असइ ढकालले दुव्र्यवहार गरेको आरोप युवतीको छ। असइ ढकालले भने युवतीले आफूलाई ब्ल्याकमेलिङ गरेको बताएका छन्। युवतीले नै सुरुमा कस्तो ह्यान्डसम मान्छे भन्दै नजिकिएको र आफूले जिस्किएर किसको प्रसंग निकालेको उनले बताएका छन्।

युवतीले मंगलबार महानगरीय प्रहरी ट्राफिक महाशाखामा गएर उजुरी गरेकी थिइन्। सोधपुछका क्रममा असइ ढकालले किसको प्रस्ताव राखेको स्वीकार गरेपछि उनलाई महाशाखाले मंगलबार नै निलम्बन गरेको छ। घटनाको विस्तृत छानबिन भइरहेको ट्राफिक महाशाखाका अधिकारीले जनाएका छन्।

‘चेकिङका क्रममा दुव्र्यवहार गरेको उजुरी आएलगत्तै निलम्बन गरिएको हो,’ महाशाखाका एक अधिकारीले भने, ‘विस्तृत अनुसन्धान गरी कारबाहीको टुंगो लगाइन्छ।’ निलम्बनमा परेका असइ ढकाल महानगरीय ट्राफिक प्रभाग सिंहदरबारमा कार्यरत छन्। उनी ०६७ मा असइबाट प्रहरीमा भर्ना भएका हुन्।

प्रहरीले जनतासँग गर्ने व्यवहार सुधारको प्रयास गरिरहँदा त्यसविपरीत ढकालले आचरणविपरीत काम गरेका हुन्। प्रहरी संगठनको बदनाम हुने भन्दै प्रहरी मुख्यालयले घटना बाहिर नलैजान निर्देशन दिएको छ।

चेकिङका क्रममा ट्राफिकले दुव्र्यवहार गरेका उजुरी पटक–पटक ट्राफिक महाशाखामा पर्ने गरेका छन्। तर, सोमबार बेलुकाको जस्तो उजुरी भने पहिलोपटक परेको महाशाखाका एक अधिकारीले बताए।





Comments

comments

2917