भारतबाट आउने प्रदूषित कणका कारण नेपालमा वायु प्रदूषणमा वृद्धि भएको अध्ययनले देखाएको छ।
भारतको उत्तरप्रदेश र विहार राज्यमा हजारौंका संख्यामा रहेका इँटाभट्टी र पन्जाब तथा राजस्थानमा अन्नबाली भित्र्याएपछि जलाइने डाँठ–खोस्टाको धुवाँका कारण नेपालको वायु प्रदूषण वृद्धि हुने गरेको अध्ययनले देखाएको हो।
त्रिभुवन विश्वविद्यालय वातावरण विभागकी प्राध्यापक रेजिना मास्केका अनुसार सीमा क्षेत्रका सहरसँगै काठमाडौंसम्म नै भारतको प्रदूषित कणले प्रभाव पारेको छ । प्रदूषित वायुले हिमालसम्म नै असर पार्ने गरेको उनले दाबी गरिन्।
‘हिउँद र सुख्खा याममा नेपालगन्ज, लुम्बिनी र सौराहामा काठमाडौंमा भन्दा बढी प्रदूषण देखिन्छ,’ उनले भनिन्, ‘यसको असर हिमालमा समेत प्रत्यक्ष पर्ने गरेको हाम्रो अध्ययनले देखाएको छ।’
प्राध्यापक मास्केले तराईमा रहेका कलकारखानासँगै सीमापारबाट आउने प्रदूषित कणले नेपालमा वायु प्रदूषण हुने गरेकाले त्यसतर्फ द्विपक्षीय छलफल गरी समाधान गर्नुपर्ने सुझाव दिएकी छन् । पुसदेखि असारसम्म प्रदूषणको मात्रा अत्यधिक हुने गरेको उनको भनाइ छ । यो समाचार राजधानी दैनिकमा सविन शर्माले लेखेका छन्।