नेपाल रेडक्रसविरुद्ध थाई रेडक्रसको उजुरी, ५१ करोड हिनामिनाको आरोप

काठमाडौं। नेपाल रेडक्रस सोसाइटीका तत्कालीन अध्यक्ष सञ्जीव थापासहितका पदाधिकारीमाथि ५१ करोड रुपैयाँ हिनामिनाको आरोप लागेको छ।

नेपाल रेडक्रसका तत्कालीन पदाधिकारीहरुले करोडौं रुपैयाँ हिनामिना गरेको आशंकामा थाइल्यान्डको थाई रेडक्रस सोसाइटीले थाइल्यान्डमा रहेको नेपाली दूतावासमार्फत् नेपाल रेडक्रसविरुद्ध उजुरी दिएको हो।

थाई रेडक्रसको उजुरी परराष्ट्र मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेको छ। उजुरी परेलगत्तै काठमाडौं प्रशासनले अध्यक्ष थापासहितका पदाधिकारीमाथि छानबिन थालेको छ।

थाई रेडक्रस सोसाइटीबाट प्राप्त ४२ करोड र रेडक्रसको केन्द्रीय गोदाम घर निर्माणका लागि भक्तपुरको खरिपाटीमा खरिद गरिएको जग्गामा झन्डै ६ करोड ३२ लाख रुपैयाँ हिनामिना गरेको भन्दै नेपाल रेडक्रसविरुद्ध उजुरी परेको हो।

उजुरीमाथि छानबिन जारी रहेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । छानबिनका क्रममा तत्कालीन अध्यक्ष थापासहितका पदाधिकारीमाथि बयान थालिएको जिल्ला प्रशासन कार्यालय काठमाडौं स्रोतले जनाएको छ।

स्रोतका अनुसार थाई रेडक्रस सोसाइटीले ४० लाख अमेरिकी डलर रक्तसञ्चार केन्द्रको भवन निर्माणका लागि र ५ लाख अमेरिकी डलर विपद् व्यवस्थापनमा खर्च गर्न भन्दै दिएको थियो । अहिले सो भवनको निर्माण कार्य जारी छ।

स्रोतका अनुसार अनुसन्धानको दायरामा रहेका रेडक्रसका तत्कालीन अध्यक्ष थापासहित पदाधिकारीमाथि बयानलगायत अनुसन्धान कार्य जिल्ला प्रशासन कार्यालय काठमाडौंमा चलिरहेको छ।

अनियमितता भएको प्रारम्भिक अनुसन्धानले देखाएपछि ६ जेठदेखि लागू हुनेगरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले थापा नेतृत्वको निवर्तमान समिति भंग गरेको थियो । कारबाही गर्नुअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले थापालाई मौखिक र लिखित बयान लिएको थियो।

रेडक्रसको केन्द्रीय गोदामघर निर्माणका लागि जग्गा खरिद, केन्द्रीय रक्तसञ्चार केन्द्रको नयाँ भवन निर्माण र विभिन्न जिल्लामा खानेपानीलगायतका आयोजना कार्यक्रमहरूमा भ्रष्टाचार र अनियमितता भएको भन्दै अख्तियारसहित परराष्ट्र मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो।

जग्गा खरिद गर्दा बिचौलिया खडा गरेको र खरिद प्रक्रिया त्रुटिपूर्ण भएको पनि अनुसन्धानका क्रममा फेला परेको छ । थापाले तदर्थ समिति गठनविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका छन् । थापा लगातार १२ वर्षसम्म रेडक्रसको अध्यक्ष भएर जिम्मेवारी सम्हाल्दै आएका थिए ।

अनियमितताको आरोपमा थापा नेतृत्वको समितिले भंग गर्दै सरकारले नेपाल रेडक्रस सोसाइटीमा नयाँ तदर्थ समिति बनाएको छ । हाल अध्यक्षको जिम्मेवारी प्राडा विश्वकेशर मास्केलाई दिइएको छ । समितिमा १७ सदस्य छन् । यसैगरी, महामन्त्री कमलप्रसाद निरौला (झापा), कोषाध्यक्ष सीताराम कोइराला (धादिङ) चयन गरिएको छ।

यसैगरी, सदस्यहरूमा कृष्ण गौतम, वीरबहादुर बस्नेत, लोकराज ढकाल, अशोक श्रेष्ठ, श्याम पोखरेल, दीपक मिश्र, गोवद्र्धन सम्झना, महेश्वरी राई रहेका छन् । यस्तै, सदस्यहरूमा खेमराज केसी, श्रीकृष्ण दाहाल रहेका छन्।

तदर्थ समितिलाई रेडक्रसका लागि छुट्टै नयाँ कानुनको मस्यौदा तर्जुमा गर्ने, रोकिएको केन्द्र, प्रदेश र जिल्लाको निर्वाचन गर्ने अख्तियारी दिइएको हो। यो खबर राजधानीमा प्रशान्त वलीले लेखेका छन्।





Comments

comments

29742