Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एउटा आप्रवासी कामदारको मृत्यु … ‘ शुभ विदाई ‘

एउटा आप्रवासी कामदारको मृत्यु … ‘शुभ विदाई’
विरानो भूमिमा मृत्यु अङगाल्ने – पदम गुरुङप्रति

किम ह्यङ ह्यो –

गत ७ तारिख कामबाट फर्कदा युवा तालिमकेन्द्रको पारिपट्टि रेलबाट ओर्लिएँ। गृष्म भरी सुन्दर रहने सूर्यमुखी फूलबारी अहिले उजाड भइसकेको छ। आजकाल बाँझो भएको त्यही सूर्यमुखी पूलबारी हुँदै हिडें। हिडंदै गर्दा म आज कहाँ जाने होला भन्दै आफ्नै पाइलाको फोटो खिचें। बिहानै देखि एउटा कामले हतारिएको थिएँ। गहन दुःख र पीडाका साथ १५ वर्ष विरानो भूमिमा बिताएको एउटा व्यक्तिलाई विदाइ गर्नु परको थियो।

कोरियन सपनामा रुमाल्लिएर अवैधानिक आप्रवासी कामदारको रूपमा १५ वर्ष कोरियामा बिताउनु भएका ४५ वर्षका पदम गुरुङको गत डिसेम्बर १ तारिख बिरामीको कारणले मृत्यु भएको थियो। मसँगै नेपाल आप्रवासी महिला कामदार केन्द्रको तयारी गरिरहेकी मेरी श्रीमती मन्जु गुरुङचाहिँ त्यो खवर सुन्नासाथ तुरुन्तै उहाँलाई राखिएको अस्पताल पुगेकी थिइन्। गत ४ तारिख अर्कै अस्पतालमा सारिएको थियो। ६ तारिखमा आएर नेपालीहरूले गुरुङजीको अन्त्येष्टिको व्यवस्थापन गरेका थिए। त्यसमा पनि उनी उपस्थित भएकी थिइन्।

मैले सँधै मेरी श्रीमतीलाई नेपालीलाई दुःख कष्ट पर्यो कि गइहाल्नु भन्दै आएको छु। तिनीहरूसँग दुःख सुखका क्षणहरूसँगै बिताउनु भनेर अनुरोध गरेको छु। मैले श्रीमतीलाई गर्ने त्यो अनुरोध बिरानो भूमिमा एक्लिएकाहरूसँग मेरो सुखदुःखको आदानप्रदान पनि हो। अनि , मेरी श्रीमती नेपालीहरूका बीच आवश्यक काम गर्न सक्ने न्यानो हृदयकी बनून भन्ने चाहना पनि हो।

६ गते श्रीमतीले श्रद्धाञ्जलि रकम पनि दिएर अन्त्येष्टि व्यवस्थापनको नेतृत्व पनि गरिन्। बेलुकी १० बजेसम्म अन्त्येष्टि व्यवस्थापनमा व्यस्त रहेर फर्केको कुरा ड्युटीमा भएको मलाई फोनद्धारा जानकारी दिइन्। अनि ७ तारिक अन्त्येष्टि गरियो। नेपालीहरूसँग आपसमा अभिवादन र सहयोग आदानप्रदान गर्दै बिरानो भूमिको ठिहीराँउने हिउँदलाई अलि तातो र न्यानो बनाउने काम गरिन्। म पनि एउटा कविता लेखेर त्यो चिसो हिउँदमा थोरै न्यानो सास फाल्ने कोशिस गर्दैछु।

कविता

बिरानो भूमिको रातमा, पदम गुरुङको चिट्ठी

कुनै सुँक्कसुँक्कबिना
सास रोकेर रोएको रात,
चिसो बतासले
कपडाको कलर मिलाउने छुट पनि नदिने
डिसेम्बरको चिसो रात।

वुद्ध टाढाको बाटोमा हिंडे झैं
टाढा आइपुगेको बिरानो भूमिको रात,
साथीहरू दिनरात काममा मात्र जोतिएका छन्
चियर्सको एक घुड्को वा गुडनाइटको एक बोलि पनि नपाइने रात।

पुरानो भएको बिरानो भूमिमा बानी पर्दै
कठिनाइ के हो थाहा नपाई कठिन दिन बिताउँदै
दाजुभाइ दिदीबहिनीको नाम पनि बिर्सदै
१५ वर्षे समय एकान्त चिहानमा फेरिएको यो रात।

अब न त कुनै तृष्णा, न त कुनै पीडा
बिरानो भूमिको कामदार म
साथीहरूको काखबाट लुसुक्क कतै लाग्दै छु
उनीहरुको हातगोडाले मलाई पछ्याउँदै
कतै न जा भनेर मलाई चिहानमा लुकाएको
हिउँ परिरहेको डिसेम्बरको यो रात।

सेतो हिउँ जस्तै सेतो खरानी भएर
हिमालयको ऋंखला पार गरेर
अनन्त यात्राको न्यानो उडान भर्दैछु
बाइबाइ , बाइबाइ !

अनुवादकः मोहन कार्की





Comments

comments

3238