कार्यकर्ताले नै बेवास्ता गरे नेकपाको निर्देशन

फाइल फोटो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारद्वारा गरिएका कामका बारेमा जनतालाई जानकारी गराउन आफ्ना नेता तथा कार्यकर्तालाई पटकपटक निर्देशन दिए पनि लक्षित नतिजा आउन सकेको छैन।

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी तथा संसदीय दलको हरेकजसो बैठकमा सरकारले गरेको कामको बारेमा प्रसार नभएको गुनासो गर्दै आएका छन् । उनले पार्टीका नेता, कार्यकर्ता, सांसद, मन्त्रीहरूलाई आआफ्ना क्षेत्रमा गएर सरकारले गरेको कामका बारेमा जानकारी गराउन, भइरहेको कामको अनुगमन गर्न पटकपटक निर्देशन दिँदै आएका छन्।

असार १६ गते नयाँ बानेश्वरस्थित संसद्भवनमा बसेको नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार जनअपेक्षाअनुसार नै अगाडि बढिरहे पनि सरकारले गरेका काम जनताका बीचमा पुग्न नसकेको भन्दै सरकारको कामलाई प्रभावकारी रूपमा प्रचार गर्न सांसद, नेता तथा कार्यकर्तालाई निर्देशन दिएका थिए।

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७६ भदौ १३ गते अन्तरपार्टी निर्देशन–२ जारी गर्दै पार्टीले नेता, कार्यकर्ता एवं सदस्यहरूलाई जनतासँग जोड्ने र आमजनसमुदायलाई सरकारद्वारा सञ्चालित विकास, समृद्धि र सामाजिक न्यायसहितको महाअभियानसँग जोड्ने गरी विशेष राष्ट्रिय अभियान सञ्चालन गर्ने बताएका थिए । यो समाचार आजको गोरखापत्रमा सुरेशकुमार यादवले लेखेका छन्।





Comments

comments

32409