ओलीको पिएम बन्ने मिसनमा ठूलो धक्का

काठमाडौं, २५ पुस। माघ ८ जति जति नजिक आउँदैछ, नेपालको राजनीतिको कोर्स त्यति त्यति जटिल बन्दै गएको छ। ८ माघ कुरेर बसेका नेपाली जनताले प्रगतिशील संविधान नपाउने त निश्चित नै भयो तर यो मिति नजिकिंदै गर्दा प्रमुख दलका प्रमुख नेताहरू, त्यसमा पनि सबैभन्दा बढी नेकपा एमालेका अध्यक्ष केपी ओलीका लागि तनावमा छन्।

माघ ८ नजिकिंदै गर्दा सबैभन्दा बढी वेचैनी ओलीलाई नै भएको छ। राजनीतिमा सपना हुन्छन्। सपना पूरा गर्ने बेला अनेकौं झन्झट आइलाग्दा नेताका लागि बेचैनी हुने गर्छ। हो, अहिले यस्तै समस्या छन् ओलीका। त्यसमा उनकै आफ्नै कारणले पनि धेरै भूमिका खेलेको राजनीतिक वृत्तमा चर्चा हुने गरेको समाचार आजको जनआह्वान साप्ताहिकमा प्रकाशित छ। राष्ट्रिय–अन्तर्राष्ट्रिय अवस्थाले ओलीको पिएम बन्ने मिसनमा ठूलो धक्का लाग्ने अवस्था देखिएको छ।

ठूलो दल र दोस्रो ठूलो दल मिलेर सरकार बनाउने, जुन संसारमै कहीं प्रयोग नभएको राजनीतिक अभ्यास थियो। काम गरेका ओलीले माघ ८ पछि मिसन पिएमको सपना बोकेका थिए। प्रधानमन्त्री बन्नकै लागि उनले राज्य पुनर्संरचनादेखि शासकीय स्वरूपसम्मका विवादित विषयमा आफ्नो पार्टीको अडान छाडेर कांग्रेसलाई सहयोग समेत पुर्याएको थियो।

ओलीकै पार्टीमा यसकोे विरोध भएको थियो। सुशील कोइरालालाई प्रधानमन्त्री बनाउँदा नै उनले माघ ८ मा संविधान जारी गर्ने, त्यसपछि आफूलाई प्रधानमन्त्री बनाउने शर्त राखेका थिए। धेरै कुरा पहिला हो भन्ने र पछि यो त्यस्तो हो मलाई त थाहै भएन भन्ने शैलीका प्रधानमन्त्री अहिले माघ ८ मा संविधान ल्याउन नसक्ने अवस्थामा पुगे, त्यसको कारण ओली नै बने।

ओलीले अहिले पनि संविधानसभामा प्रतिनिधित्व गर्ने परिवर्तनकामी शक्ति माओवादी र मधेशी दललाई सहकार्य गरेर संविधान बनाउने कुरा गरेनन्। बरु उनले भनिरहे–हामीसँग दुईतिहाइ छ। हामी जसरी पनि माघ ८ मा संविधान बनाउँछौं। तर, उनको समयसीमा धेरै पछाडि पुगिसक्यो। ओलीले सभामुख नेम्वाङलाई प्रक्रिया अगाडि बढाउन दबाब दिए पनि यो सफल हुन सकेन। बरु विपक्षीहरूले संविधानसभाभित्रै प्रतिवाद गर्ने भनेर अडान लिए।

संविधानसभामा रक्तपात गराएर भए पनि संविधान जारी गर्नुपर्ने ओली खेमाको मत छ। तर, कांग्रेस र एमालेभित्रै यो मतमा पूरै नेता छैनन्। ओली कतिसम्म पूर्वाग्रही छन् भन्ने उदाहरण हेर्न बुधबार बालुवाटारमा मधेशी दलका नेताहरूलाई गरेको अपमान हेरे हुन्छ। उनले मधेशी नेताहरूलाई अप्रत्यक्ष रूपमा भारतीय नागरिक भएको समेत भने। ओलीले त्यहाँ युपी र बिहारलाई पनि मधेशमा गाभ्ने भनेर आफूहरूको अपमान गरेको मधेशी दलका नेताहरूको भनाइ छ। ओलीले माओवादीलाई समेत धेरै टाढा पुर्याएका छन्। भविष्यमा समेत ओलीलाई माओवादीले प्रधानमन्त्री बनाइदिने सम्भावना कम छ।

कांग्रेसले सहयोग नगरेपछि विपक्षी दलहरूको सहयोगमा प्रधानमन्त्री ओलीको एउटा विकल्प बाँकी थियो तर उनले आजको दिनसम्म त्यो विकल्पलाई धेरै जटिल बनाएका छन्। ओलीलाई स्वयम् कांग्रेस सभापति सुशील कोइरालाले पनि पद नछाडिदिने संकेत आफू नजिककाहरूसँग दिइसकेका छन्। यदि ओलीलाई प्रधानमन्त्री बनाए त्यसको परिणाम गंभीर हुने चेतावनी कांग्रेसका केही नेताहरूले दिइसकेका छन्।

कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा आफैं प्रधानमन्त्रीको दौडमा लागिसकेका छन्। कांग्रेसभित्र उनी दिनदिनै बलियो बन्दै गएका छन्। ओलीलाई स्वयं एमालेकै माधव नेपाल समूहले प्रधानमन्त्री बनाउने खेलमा असहयोग गरेका छन्। सबै तालमेल मिलाए आफैं प्रधानमन्त्री बन्न सकिने नेपालको दाउ छ। विद्या भण्डारी र झलनाथ खनालको भरमा ओलीलाई प्रधानमन्त्री बन्न कठिन रहेको एमालेकै नेताहरू बताउँछन्।





Comments

comments

3250