वैद्यबाट छुट्टिएका विप्लवको हेडक्वार्टर कति शक्तिशाली?

मोहन वैद्य किरण नेतृत्वको नेकपा–माओवादीसँग सम्बन्धविच्छेद गरेर आफ्नै नेतृत्वमा नेकपा माओवादी गठन गरेका युवा नेता नेत्रविक्रम चन्द विप्लवले ‘हेडक्वार्टर’मा भने पुराना नेता राखेका छन्। चितवन बैठकपछि बनेको सात सदस्यीय ‘हेडक्वार्टर’मा परेका नेताहरू राष्ट्रिय राजनीतिमा त्यति परिचित छैनन्।

एकीकृत क्रान्तिको सिद्धान्तको जगमा भूमिगत संघर्षको योजना निर्माण र कार्यान्वयनमा सहयोग गर्न ‘हेडक्वार्टर’ बनाइएको हो। विप्लव अहिले तिनै ‘हेडक्वार्टर’का सदस्यहरूलाई लिएर देशभर संगठन निर्माणमा लागेका छन्।

आफ्नो नेतृत्वमा ६५ सदस्यीय प्रथम राष्ट्रिय सम्मेलन आयोजक समिति बनाएका विप्लवले आगामी पुस अन्तिम साता हुने सम्मेलनमार्फत चुस्त नेतृत्व तयार पार्ने योजना बनाएका छन्।

हुन त विप्लवले आफ्नो टिमप्रति निकै विश्वास राखेका छन्। ‘माओवादी आन्दोलनमा पहिलोपटक सबै केन्द्रीय सदस्यले पार्टीले खटाएको काम र कार्यक्षेत्रमा जान तयार रहेको बताएका छन्, यो पार्टीका लागि ठूलो ऊर्जा हो,’ १५ मंसिरमा पार्टी घोषणा गर्न नाचघरमा बोलाइएको पत्रकार सम्मेलनमा आफ्ना सहयोगीप्रति विश्वास व्यक्त गर्दै विप्लवले भनेका थिए, ‘चितवन बैठक माओवादी आन्दोलनका लागि ठूलो ऊर्जा हो।’

सात सदस्यीय हेडक्वार्टरमा विप्लवले तीनजना आफूभन्दा उमेरमा धेरै पाका नेता समेटेका समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ। तर, विगतमा जस्तो ‘सेटिङ’मा भने विप्लवको नेतृत्व छैन। जस्तो कि जनयुद्धपूर्व नै माओवादीमा प्रचण्ड, किरण, बादल, बाबुरामजस्ता नेता थिए। एकको विकल्प अर्को हुन सक्थ्यो, कार्यकर्तामाझ। त्यसैगरी वैद्य माओवादी गठनमा पनि किरण, सिपी गजुरेल, बादल, देव गुरुङ र नेत्रविक्रम चन्द विप्लवजस्ता नेता थिए।





Comments

comments

3289