बाँदर आतङ्कले अन्नबाली नोक्सानी हुने गरेको कुरा नौलो होइन तर कास्कीको मादी गाउँपालिकाका बासिन्दा बाँदर आतङ्कका कारण बसाँइ सर्न बाध्य भएको अवस्था सिर्जना भएको छ।
गाउँको बीचमा भएकोे खेती मात्र जोगिन्छ, अन्य स्थानको खेती जोगाउन नसकेर हैरान परिसक्यौँ, अब त बसाइँ सराइ गर्नुबाहेक विकल्प छैन । सो गाउँपालिकाको वडा नम्बर १२ मा चार सय घरधुरी रहेकोमा पाँच प्रतिशत बासिन्दाले मात्र खेती जोगाउन सकेको उनको भनाइ छ । घरमा भित्र रहेको अन्नपात, फलफूल केही बाँकी नराखेर घर–घरमै भित्रै पसेरसमेत खान थालेपछि स्थानीय प्रकाश दाहाल बसाइ सरेर तराई जानुभएको छ । बाँदर आतङ्कले गर्दा उत्पादन गर्न नपाएपछि बाँच्ने विकल्प नभएपछि दाहाल बसाइँ सराइ सर्न बाध्य भएको पीडा उनले पोखे।
उत्पादन गर्न खोज्यो, फूल लाग्दै गर्दा बाँदरले बोट उखाल्न थाल्छन् अनि कसरी उत्पादन हुन्छ ? मादी गाउँपालिका–१२ का वडा अध्यक्ष चित्रबहादुर गुरुङले भने, बाँदरका कारण ५०० रोपनी जग्गा बाँझो भइरहेको छ । कानुनले बाँदर मार्न पाइँदैन, बाँदरले हामीलाई बाँच्न दिएन । अब सबै गाउँले मिलेर हेरालु राख्ने अभियान चलाउने सोच बनाएका छौँ।
उनले अगाडि भने, बाँदरले नखाने भनेको जमिनमुनिको अदुवा र हलेदो हो । सबैले त्यही बाली लगाउन पनि सकिँदैन । अन्न नलगाएर के खाने?
मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले भने गाउँमा मानिसको जनघनत्व घटेका कारण बाँदरले सताएको बताउँछन् । बाँदरका कारण कास्कीको अर्को गाउँपालिका अन्नपूर्णमा पनि समस्या त्यस्तै छ। गोरखापत्र दैनिकमा समाचार छ ।