६ जनालाई नइ पुरस्कार

काठमाडौं, नइ प्रकाशनले राष्ट्रिय जनजीवनका छ जना महानुभावहरूलाई २०७६ सालको नइ पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ।

नइ प्रकाशनले परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठलाई ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ र साहित्यकार श्रीमती लक्ष्मीदेवी राजभण्डारीलाई ‘नइ रेखा पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ।

यी दुवै पुरस्कारका राशि जनही साठी हजार रुपियाँ रहेका छन्।

त्यसै गरी काठमाडै उपत्यका बाहिर रहेर नेपाली साहित्यमा क्रियाशील रुपन्देहीका श्रीमती दुर्गा पौडेललाई ‘नइ बुलु शर्मा पुरस्कार’, अपाङ्ग रहेर पनि नेपाली भाषासाहित्यमा सदैव समर्पित श्री महेश थापालाई ‘नइ देरुनीख गौरव पुरस्कार’ र तेस्रोलिङ्गी श्री सोफी सुनुवारलाई ‘नइ रामलक्ष्मी पुरस्कार’ समर्पण गरिने भएको छ।

यी तीनै पुरस्कारका राशि जनही पचास हजार रुपियाँ रहेका छन्।

मिस मङ्गोल सुश्री सिविरा लामालाई पच्चीस हजार रुपियाँ राशिको ‘नइ देरुनीख पौरख पुरस्कार’ समर्पण गरिने भएको छ।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो।

शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १०१ औं शुभजन्मोत्सवका अवसरमा उहाँबाटै आगामी वैशाख ३० गते काठमाडौंमा नइ पुरस्कारहरु समर्पण गरिने छन्।

नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।





Comments

comments

34178