पाँच वर्षभित्र ५० अर्बको बिजुली बेच्ने योजना

फाइल फोटो

नेपाल विद्युत् प्राधिकरणले आगामी पाँच वर्षभित्र ४९ अर्ब ७२ करोड २० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गर्ने भएको छ।

हाल झण्डै २० अर्ब बराबरको विद्युत् आयात भइरहेको बेला विद्युत् प्राधिकरणले यति धेरै विद्युत् निर्यात गर्ने गरी योजना बनाएको हो । विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्मका लागि बनाएको कर्पोरेट विकास योजनामा २०७७/०७८ अर्थात् आगामी वर्षदेखि विद्युत् निर्यात गर्ने उल्लेख छ।

चालू वर्षमा विद्युत् निर्यात नभए पनि २०७७/७८ मा १ अर्ब ६ करोड ३० लाख, २०७८/७९ मा ८ अर्ब १८ करोड ३० लाख, २०७९/८० मा १७ अर्ब ५३ करोड ८० लाख तथा २०८०/८१ सालमा २२ अर्ब १३ करोड ८० लाख निर्यात गर्ने योजना प्राधिकरणको छ।

पाँच वर्षभित्र प्रति व्यक्ति खपत ७ सय युनिट पुर्‍याउने लक्ष्य राखेको प्राधिकरणले पाँच हजार मेगावाट वितरण गर्न सक्ने क्षमता पुर्‍याउने योजना छ। आगामी वर्षदेखि विद्युत् खेर जाने भन्दै विद्युत् प्राधिकरणले विद्युत् निर्यातको योजना अघि बढे पनि कसरी निर्यात गर्ने भन्ने टुंगो लागेको छैन।

विशेष गरी सरकारले भारत र बंगलादेशमा विद्युत् निर्यात गर्ने योजना बनाएको छ । भारत सरकारले अन्तरदेशीय विद्युत् व्यापार निर्देशिका निर्माण गरेपनि नेपाल लगायतले भने अझै यसबारे कुनै नीति बनाइसकेका छैनन्। यो खबर कारोबार दैनिकमा भीम गौतमले लेखेका छन्।





Comments

comments

34480