कृषि मन्त्रालयका दुई उपसचिवसहित १३ अधिकृत बेपत्ता

फाइल फोटो

कृषि तथा पशुपक्षी विकास दुई उपसचिवसहित १३ जना अधिकृत वर्षौंदेखि काम छोडेर बेपत्ता हुँदा पनि मन्त्रालयले उनीहरूमाथि कारबाही गर्न सकेको छैन।

२४ वर्षदेखि बेपत्ता केही अधिकृतबारे मन्त्रालयको प्रशासनिक नेतृत्व बेखबर जस्तै छ । लामो समयदेखि अधिकृत बेपत्ता हुँदा ती पदहरूमा नयाँ भर्ना प्रक्रियासमेत सुरु भएको छैन । बेपत्ता कर्मचारी अमेरिका, बेलायत, अस्ट्रेलियालगायत देशमा रहेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । उनीहरू अध्ययन, तालिमका लागि भन्दै विदेश गएको र उतै जागिर खाएर बसेको जनाइएको छ । केही अधिकृत भने सेवा निवृत्त हँुदा समेत यसको रेकर्ड मन्त्रालयमा छैन।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार पशु सेवातर्फका भेटनरी अधिकृतहरू बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा उपसचिवस्तरका वरिष्ठ पशु चिकित्सक खड्ग सिंह विष्ट र विश्वचन्द्र घिमिरे छन् । विष्ट २४ वैशाख २०७० देखि र घिमिरे २०५७ देखि नै बेपत्ता छन्।

यसैगरी मन्त्रालयका अनुसार पशु चिकित्सक सुवास शिवाकोटी २०७० सालदेखि नै बेपत्ता छन् । वेपत्ता हुने अन्य पशु अधिकृतहरूमा विनु श्रेष्ठ, विष्णुबहादुर अधिकारी, कृष्णप्रसाद कँडेल, अञ्जनकुमार चालिसे, तोयानाथ बराल, तुलसीराम थापा, यादव बजगार्इंलगायत छन् । मन्त्रालयका अनुसार केही अधिकृत २०५२ सालदेखि नै बेपत्ता भएका छन्।

निजामती सेवा ऐनअनुसार बिनासूचना लगातार ९० दिनसम्म कार्यालयमा अनुपस्थित हुने कर्मचारीलाई सेवाबाट हटाउने प्रक्रिया थाल्नुपर्छ । तर, कृषि मन्त्रालयको प्रशासनिक नेतृत्वले त्यस सम्बन्धमा कुनै पहल नै नगर्दा ती कर्मचारीमाथि कारबाही हुन नसकेको हो। राजधानी दैनिकमा समाचार छ।





Comments

comments

34514