त्रिमूर्ति निकेतनमा १३१ औं लेखनाथ जयन्ती

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १५ पुस। त्रिमूर्ति निकेतनले एक कार्यक्रमको आयोजना गरी मंगलवार कविशिरोमणि लेखनाथ पौड्यालको १३१औँ जयन्ती मनाएको छ।

निकेतनका अध्यक्ष इन्दिरा प्रसाईले सञ्चारग्रामस्थित लेखनाथ पौड्यालको पूर्णकदको सालिकसहित तथा नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका पूर्णकदको सालिकमा पनि माल्यार्पण गरेर सम्मान व्यक्त गरिन्।

त्रिमूर्ति निकेतनद्वारा आयोजित कार्यक्रममा निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, लेखनाथ पौड्याल काव्यसभाका संयोजक प्रा.राजेन्द्र सुवेदी, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.ठाकुर पराजुली र त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाट्यसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धाञ्जलि हुने बताए।

कार्यक्रममा कविहरू प्रल्हाद पोखरेल, डा.शैलेन्दुप्रकाश नेपाल, बाबा वस्नेत, यादव भट्टराई र ललिता दोषीले कविता वाचन गरेका थिए।

लेखनाथ पौड्यालको सङ्क्षिप्त परिचय
लेखनाथ पौड्यालको जन्म १९४१ साल पुस १५ गते कास्कीको अर्घौअर्चलेमा भएको थियो। २००८ साल असार २९ गते पौड्याललाई राजा त्रिभुवनद्वारा कविशिरोमणिको पद्वी र मासिक दुई सय रुपियाँ आजीवन भत्ता प्रदान गरिएको थियो।

लेखनाथ पौड्याल, बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटा २००९ सालमा दार्जीलिङ जाँदा त्यहाँका त्रिरत्न सूधपा अर्थात् सूर्यविक्रम ज्ञावाली, धरणीधर शर्मा र पारसमणि प्रधानद्वारा पौड्याल, सम र देवकोटालाई त्रिमूर्तिको पद्वीले सम्मान गरिएको थियो।

२०११ सालमा पौड्यालकै शुभजन्मोत्सवको उपलक्ष्यमा काठमाडौँमा पौड्यालको रथयात्रा गरिएको थियो। गोपाल पाण्डे असीमको अग्रसरतामा देवकोटा र सम समेत भएर पौड्याललाई रथारोहण गराइएको थियो।

पौड्यालका दुई दर्जन जति कृति प्रकाशनमा आए। पौड्याललाई मरणोपरान्त २०२६ सालमा त्रिभुवन प्रज्ञापुरस्कार प्रदान गरिएको थियो। २०२२ सालको शिवरात्री अर्थात् फागुन ७ गते कविशिरोमणि लेखनाथ पौड्यालको देहावसान भएको थियो।

(नरेन्द्रराज प्रसाई)
सदस्यसचिव
त्रिमूर्ति निकेतन





Comments

comments

3513