कोरियामा आज निर्वाचन, सङ्क्रमितलाई पनि मतदानको व्यवस्था

निर्वाचन

सउल, कोरोना सङ्क्रमण माहामारीकै बीच राष्ट्रियसभाका ३०० सदस्यका लागि दक्षिण कोरियामा आज आम निर्वाचन हुँदैछ।

चारवर्षे कार्यकालका लागि चुनिने उम्मेदवारलाई चार करोड ४० लाख मतदाताले मतदान गर्नेछन्।

वर्तमान राष्ट्रपति मुन जे इनको पार्टी डोमोक्रेटिक बहुमत ल्याउने योजनासहित मैदानमा छ। हाल सदनमा यो दलको १२० सिट छ। बलियो प्रतिद्वन्द्वी मानिने युनाइटेड फ्युचर पार्टी पनि आफ्नो बहुमत आउनेमा ढुक्क छ । सदनमा युटाइटेड फ्युचरको पार्टीको ११२ सिट भए पनि २० सांसदले छुट्टै युनाइटेड पार्टी खोलेर चुनावी मैदानमा होमिएका छन् । उनीहरु पनि आफ्नो बहुमत आउने दाबी गरिरहेका छन्।

निर्वाचन

मजदुरको पक्षधर मानिने राष्ट्रपति मुनको तीनवर्षे कार्यकाल पूरा भएको छ । आफूले सत्ता सम्हाल्नासाथ मजदुरको ज्याला प्रतिघण्टा १० हजार वन पु¥याउने उनको महत्वकाङ्क्षी योजना अझै पूरा हुनसकेको छैन तर पनि अन्य योजनाहरु चुस्तगतिमा अगाडि बढाउनाका साथै कोरोना माहामारीलाई घटाउन उनको सरकारले गरेको कदमको विश्वव्यापीरूपमा प्रशंसा भइरहेको छ।

मुनको पार्टी डेमोक्रेटिकले निर्वाचनमा बहुमत पाए मुनलाई बाँकी दुई वर्ष आफूले चाहेअनुसारका काम गर्न, नीति नियम बनाउन र योजना पूरा गर्ने अवसर हुनेछ।

जोखिम हुन नदिन तयारी

कोरियाली निर्वाचन आयोगका अनुसार कोरोना सङ्क्रमण फैलन नदिन सुरक्षा व्यवस्था चुस्त बनाइएको छ। मतदाताले लाइनमा उभिँदा एक मिटर दूरी कायम राख्नुपर्ने, सबैले मास्क लगाउनुपर्ने, मतदान केन्द्र प्रवेश गर्नुअघि स्यानिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने छ।

हातमा स्यानिटाइजर लगाएपछि निर्वाचन आयोगका प्रतिनिधिले दिएको प्लास्टिकको पञ्जा लगाउनुपर्ने व्यवस्था गरिएको छ। मतदानस्थलमा सबै मतदाताको विशेष यन्त्रमार्फत ज्वरो नापिने र ३७।५ भन्दा बढी तापक्रम भएका मतदातालाई छुट्टै लाइनको व्यवस्था गरिनेछ।

चुनावमा कोरोना सङ्क्रमितले पनि भोट हाल्न पाउनेछन्। उनीहरु बिहान ९ बजेभन्दा अघि र बेलुकी ६ बजेपछि मात्र मतदान केन्द्र जान सक्ने व्यवस्था मिलाइएको छ। साथै विदेशमा रहेका कोरियाली नागरिकका लागि पनि मतदानको व्यवस्था गरिएको थियो। उनीहरुले दुई साताअघिदेखि नै भोट हालिसकेका छन्। (रासस)

[table “” not found /]

[table “” not found /]

[table “” not found /]

[table “” not found /]





Comments

comments

35543