संक्रमणको बेला राष्ट्रपतिको राजसी सवारी

राष्ट्रपतिको सवारी

काठमाडौं – लकडाउनले सुनसान बनेका फराकिला सडक अझै सुनसान पारिए। तीनै सुनसान सडकको बीचबीचमा सुरक्षाकर्मी तैनाथ छन्।

दृश्य देख्दा लाग्छ, यत्रो सुरक्षाकर्मी किन राखिए होलान्?

शुक्रबार सितलनिवासदेखि नयाँ वानेश्वरसम्मको सडकमा सुरक्षाकर्मीमात्रै देखिए । कारण थियो, राष्ट्रपति विद्यादेवी भण्डारीको सवारी । अरू बेला सर्वसाधारणलाई सडकमा उभ्याएर सवारी हुने राष्ट्रपति शुक्रबार भने खुला सडकमा जम्बो सुरक्षाफौज लिएर नयाँ वानेश्वरतर्फ लागिन्।

सर्वसाधारणको ओहोरदोहोर रोकिएको बेला उनलाई सुरक्षा प्रदान गर्न उपत्यकाका अधिकतर सुरक्षाकर्मी परिचालित थिए । उनको सवारी चलाउन बिनामास्क सडकमा तैनाथ सुरक्षाकर्मी परिचालित थिए । उनको अघि–पछि तैनाथ भएका सुरक्षाकर्मीले मास्कधरी लगाउन पाएका थिएनन्। राष्ट्रपतिको सवारीका कारण सुरक्षाकर्मीले भौतिक दुरीसमेत कायम राख्न सकिरहेका थिएनन्।

सरकारको आगामी नीति तथा कार्यक्रम सार्वजनिक गर्न शुक्रबार दिउँसो ४ः१० बजे उनी संसद् भवन ओर्लिइन्। हातमा पञ्जा र मास्क लगाएकी राष्ट्रपति संसद् भवनतर्फ अघि बढिन् । सँगसँगै थिए, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, थुप्रै मन्त्री, नेता र सांसदहरू। कोरोना महामारीले मुलुक थला परिरहेको बेला राष्ट्रपतिको सवारी पनि सामान्य होला भन्ने अनुमान धेरैको थियो । सादा ढंगले उनी संसद् भवन पुग्छिन् होला भन्ने सोचेका सर्वसाधारणले राष्ट्रपतिको सवारीमा पुरानै छनक पाए। यो समाचार नागरिक दैनिकमा शिवहरि घिमिरेले लेखेका छन्।





Comments

comments

36408