एनआरएनद्वारा अध्यक्ष घले दम्पत्तिलाई बधाई

एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद(आईसीसी)ले अध्यक्ष शेष घले तथा उनकी धर्मपत्नी जमुना गुरुङलाई प्रशंसा गर्दै बधाई ज्ञापन गरेको छ।

हालै एक अर्ब रुपैयाँको परोपकारी कोष स्थापना गर्ने घोषणा गरेकोमा प्रशंसा गर्दै बधाई ज्ञापन गरेको हो। संघको जनवरी १० तारिख शनिवार सम्पन्न आईसीसी बैठकले घले दम्पत्तिको उक्त घोषणाले बिश्वभर रहेका गैरआवासीय नेपालीको शीर उच्च बनाएको र गैरआवासीय नेपालीको भातृभूमिप्रतिको आस्था र सम्मानलाई अझ उजागर गरेको ठहर गरेको छ।

शिक्षा र स्वास्थ्य जस्ता प्राथमिक र आधारभूत सुबिधा सवै नेपालीको पहुँचमा पुग्न नसकेको अबस्थामा दुर्गम ग्रामिण बस्तिका विपन्न परिवारलाई सेवा पुर्‍याउने घले दम्पत्तिको अभियान ऐतिहासिक उपलब्धि भएको वैठकले ठहर गरेको छ।

साथै बैठकले घले दम्पत्तिको उक्त कार्यले बिश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरुलाई नेपालमा परोपकारी कार्यमा योगदान दिन प्रोत्साहन र हौसला प्रदान गरेको ठहर गरेको छ।

वैठकले यस्तो पुनित कार्य आरम्भ गरेकोमा अध्यक्ष घले र उनकी धर्मपत्नी श्रीमती जमुना गुरुङलाई बधाईसहित धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको गैरआवासीय नेपाली संघ अन्तरर्राष्ट्रिय समन्वय परिषदका प्रवक्ता मन केसीले जानकारी दिए।

अध्यक्ष शेष घले र उनकी धर्मपत्नी श्रीमती जमुना गुरुङले गत बिहीबार आफूले आर्जन गरेको सम्पत्तिबाट एक अर्ब खर्च गर्नेगरी एमआईटी ग्रुप फाउण्डेसन स्थापना गरी नेपालमा परोपकारी कार्य थाल्ने घोषणा गरेका थिए।





Comments

comments

3671