Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सूर्यबहादुर थापा कांग्रेस प्रवेश गर्ने !

काठमाडौं, २८ पुस। बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा दलबलसहित नेपाली कांग्रेस प्रवेश गर्ने चर्चाले राप्रपाभित्र हल्लीखल्ली मच्चिएको छ।

आपूर्तिमन्त्रीसमेत रहेका छोरा सुनिलका साथ पूर्वप्रधानमन्त्री थापा गत साता सुटुक्क प्रधानमन्त्री निवास बालुवाटार छिरी करिब पौने घन्टापछि निस्किएका थिए। उनले प्रधानमन्त्री सुशील कोइरालासँग के– के कुरा गरे त्यसको पुष्टि अझै हुन सकेको छैन। तर, राप्रपाभित्र भने ठूलै तहल्का मच्चिएको छ।

समाचार स्रोतका अनुसार पार्टीभित्र एक्लो र कमजोर हुन थालेपछि पूर्वप्रधानमन्त्री थापाले कांग्रेसमै फर्कने मनस्थिती बनाएका छन्। ६० वर्षअघि नेपाली कांग्रेसबाटै राजनीति सुरु गरेको भए पनि उनी पञ्चायती व्यवस्थाका पहिलो प्रधानमन्त्री हुन्। लामो समयसम्म संयुक्त राष्ट्रसंघमा जागिर खाई रिटायर्ड हुनेवित्तिकै नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारमा मन्त्री बनेका सुनिल थापा पनि पहिलेदेखि नै नेपाली कांग्रेसमार्फत राजनीति गर्न इच्छुक देखिएका थिए।

धनकुटा जिल्लामा आफ्नो पार्टी संगठन अत्यन्त कमजोर रहेका कारण सुनिललाई पार्टीमा प्रवेश गराएर उपयुक्त भूमिका दिने विषयमा नेपाली कांग्रेसभित्र खासै विवाद हुने अवस्था छैन। तर,धनकुटाको कुनै एउटा क्षेत्रबाट उम्मेदवार बनेर सभासद जित्नका लागि मात्रै नेपाली कांग्रेस प्रवेश गर्ने मनस्थितीमा मन्त्री थापा नरहेको स्रोतले जनाएको छ। आफ्ना ससुरा हिमालयशमशेर राणालगायत करिब एक दर्जनलाई नेपाली कांग्रेसभित्र उपयुक्त भूमिका दिइन्छ या दिइन्न? त्यसको जोखाना मन्त्री थापाले गरिरहेका छन्।

यता राप्रपाले भने मन्त्री थापालाई फिर्ता बोलाउने तयारी गरिसकेको समाचार साप्ताहिक पत्रिका तरुणमा छापिएको छ। उनीमाथि भ्रष्टाचारमा लिप्त भएको, नातागोताबाहेक अन्यत्र ध्यान नदिएको आरोप पार्टीभित्र लाग्न थालेको छ।





Comments

comments

3681